चितवन । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले सरकारी गाडी नचढ्ने भएका छन् । रत्ननगर वडा नं ६ स्थित बछाैली माविमा आयाेजित नगरपालिकाकाे चालू आर्थिक बर्षकाे दाेस्राे चाैमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उनले सरकारले व्यवस्था गरेकाे सरकारी गाडी नचढ्ने घाेषणा गरेका हुन ।
स्थानीय सरकार सञ्चालन ऐनले नगरप्रमुखकाे सहजताकाे लागि सवारी साधन व्यवस्था गरेकाे छ । खर्च मितव्यी गर्दै आएका मेयर सापकाेटाले अब सरकारी गाडी समेत नचढ्ने घाेषणा गरेका हुन् । निर्वाचित भएकाे दुई बर्ष सम्म सरकारी गाडी कम प्रयाेग गरेका उनले सार्वजनिक सुनुवाईमा नगरवासीलाई साक्षी राखेर सरकारी गाडी नचढ्ने घाेषणा गरेका हुन् ।
दुई बर्ष सम्म सरकारी गाडी कम प्रयाेग गरेकाे छु उनले भने अब तीन बर्ष कार्यकाल बाँकी छ, आजै देखि सरकार गाडी प्रयाेग गर्दिन । जनताले तिरेकाे कर विकास निर्माणमा खर्च गर्न आफु प्रतिबद्ध रहेकाे भन्दै मेयर सापकाेटाले सेवा उपभाेगलाई भन्दा नगरकाे विकास र नगरबासीकाे हितका लागि प्रतिबद्ध रहेकाे बताए ।
विपन्न समुदायकाे शिक्षा र स्वास्थ्यकाे लागि सधै प्रयासरत रहने मेयर सापकाेटाले नगर तथा व्यक्तिगत लगानीमा विपन्न र असहायलाई आवास निर्माण गर्ने गरेका छन् । आर्थिक अभावका कारण उपचार नपाएका र शिक्षाबाट बन्चित विपन्न तथा अपाङ्गता भएका नगरवासीलाई व्यक्तिगत लगानीमा उपचार र शिक्षा प्रदान गर्दै आएका छन् ।