चितवन। राष्ट्रपति रामचन्द्र पौडेल चितवन आइपुग्नु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल चितवन आउनु भएको हो ।
पूल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटन संगै तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रममाको जेष्ठ नागरिक भवनको समेत शिलन्यास गर्नुहुने छ ।
बि. सं. २०७१ सालको कात्तिक २० गते शिलन्यास गरिएको पुलको पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । निर्माण सम्झौता भएको दश बर्षमा सम्पन्न पुल निर्माणका लागि रु २१ करोड ६८ लाख ८ हजार खर्च भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पुल निर्माणका लागि प्राविधिक समस्या आएको, हावाहुरीले निर्माणकै क्रममा ढलेको लगायतका कारण पुल निर्माणको काममा ढिलाई भएको प्रमुख पौडेलले बताउनुभयो । ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय २० मिटर ढलान गरिएको छ भने अन्य स्थानमा स्टिलको स्पान बनाईएको छ ।