चितवन। चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका २५ वटा गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने चौधर नदीमा छोड्न पठाइएको छ । शनिबार बिहान नदीमा घडियाल गोही छोडिने जनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चारदेखि पाँच वर्ष उमेरका गोही पठाइएको हो । चौधर नदीमा लिखितरुपमा सन् १९८० सम्म गोही रहेको भनिए पनि त्यहाँ माछा मार्नेले सन् १९९३ सम्म गोही देखेको स्थानीयले बताउँदै आएका छन् । त्यसयता हाल मगर गोहीमात्र रहेका छन् । तिवारीले नदी गोहीका लागि उपयुक्त भएकाले पठाइएको बताउनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गोही लिन आउनुभएका संरक्षण अधिकृत एवं सूचना अधिकारी मनोज ऐरले झण्डै ४० घण्टा लगाएर गोही लैजान लागेको बताउनुभयो । शनिबार औपचारिक कार्यक्रम गरी नदीमा गोही छोडिने उहाँले बताउनुभयो । निकुञ्ज विभागले गरेको अध्ययनमा सो नदी गोहीका लागि उपयुक्त देखिएकाले यस वर्ष २५ वटा र अर्को वर्ष २५ वटा गोही लैजाने तयारी गरेको हो । कञ्चनपुर र डडेलधुराको सिमानामा रहेको चुरे क्षेत्रबाट बग्ने खोला र खोल्सा एवं कहिलेकाहीँ महाकाली सिँचाइ दोस्रो परियोजनाको पानी यो नदीमा आएर मिसिन्छ ।
यो नदी भारततर्फको महाकाली नदीमा गएर मिसिने उहाँले जानकारी दिनुभयो । चौधर नदीले शुक्लाफाँटा निकुञ्जलाई बीचबाट दुई भागमा विभाजन गरेको छ । यस वर्ष गोही प्रजनन केन्द्रबाट १० वटा गोही बाँकेको राप्ती नदीमा छोड्ने गरी पठाइएको थियो । प्रजनन केन्द्रमा हुर्काइएका थप ४० वटा गोही केही दिनमा राप्ती र नारायणी नदीमा छोड्ने योजना बनाइएको छ । हरेक वर्ष राप्ती र नारायणी नदीको बगरमा गोहीको अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा बच्चा कोरली हुर्काउने गरिन्छ । प्रजनन केन्द्रमा समेत गोहीले पारेका अण्डाबाटसमेत कोरलिएको बच्चालाई यहाँ हुर्काउने गरिन्छ ।