चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भएको बताउनुभएको छ ।
विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै उहाँले रंगशाला परिसरमा आउदा दिने गरेको बाचा पुरा भएको प्रष्ट पार्नुभयो।
प्रमुख दाहालले २ दिन अगाडि टेण्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे २ वर्षभित्र निर्माणको कार्य पुरा हुने उल्लेख गर्नुभयो ।
‘सम्पूर्ण नेपालीका लागि खुसीको विषय हो, आज फरक अनुभूति भएको छ,उहाँ भन्नुभयो,‘सधै यहाँ आएर रंगशाला बन्छ, बनाउने छौ मात्र भन्ने गर्दथ्यौ । अब बन्ने पक्का भएको छ ।’ उहाँले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलो पटक गरेको भए पनि पूर्ण रुपमा सफल भएको बताउनुभयो । महानगरपालिकाले क्रिकेट मात्र होइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उहाँको भनाई थियो ।
प्रमुख दाहालले अब पुरुषको मात्र नभइ महिलाको पनि यस्ता प्रतियोगिता हुने प्रष्ट पार्नुभयो ।
सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताउनुभयो । नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गर्नुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।
यसैबीच, प्रतियोगिताको उपाधि अर्किड स्कुलले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किड रनिङ ट्रफी हात पार्ने पहिलो टिमका रुपमा नाम लेखाउन सफल भएको हो ।
भरतपुर महानगरपालिकाले आयोजनामा माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत विद्यालयका २० क्रिकेट टिम सामेल थिए ।
रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको नमुना खेल मैदानमा सञ्चालन भएको मेयर्स कपको फाइनल खेलमा टस जितेर अर्किडले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभर पूरै खेल्दै अर्किडले ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको वाल्मीकि शिक्षा सदनले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रनमात्रै जोड्न सक्यो ।
अर्किडले एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन प्रमुख प्रायोजक रहेको प्रतियोगिताको उपाधिमात्र जितेन विधागत पुरस्कारतर्फ पनि एकलौटी कब्जा ग¥यो । फाइनल खेलमा बलिङमा २ विकेट लिएका र ब्याटिङमा ३६ रन लिएका अर्किडका मन्दिप बराल प्लेयर अफ द म्याच भए । उनै मन्दिप प्रतियोगिता अवधिभर २१ विकेट लिएका कारण बेस्ट बलर पनि भए ।
त्यसैगरी अर्किडकै सगुन सापकोटा सर्वाधिक रन लिएका कारण बेस्ट ब्याटरमात्रै भएनन् प्रतियोगिताको प्लयर अफ दि सिरिज पनि छानिए । खेल अवधिभर उनले कुल २ सय ५७ रन जोडेका थिए । उनको नाममा १४ विकेट पनि रहयो ।