चितवन । रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा छात्राको शंकास्पद मृत्यु भएकाे घटनामा अनुसन्धान गर्न प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्कुलका प्रिन्सिपल, सहायक प्रिन्सिपल र होस्टलको वार्डेन रहेका छन् । कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल शनिवार मृत भेटिएकी हुन् ।
झुण्डेको अवस्थामा पाेखरेल मृत भेटिएकाे खबर आएपछि घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए । डीएसपी भण्डारीले भने ‘घटनामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’
पक्राउ गरिएकाहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए ।