चितवन । रत्ननगर नगरपालिका वडा नंं १० मा रहेको न्यू स्पिडी आवासीय मध्यमिक विद्यालयले ३०औं वार्षिक उत्सव मनाएको छ ।
विद्यालयले शुक्रवार एक कार्यक्रमका बिच ३०औं वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम गरी मनाएको हो ।
विद्यालयका प्राधानाध्यापक अर्जुन वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रत्ननगर वडा नं. १० का वडा अध्यक्ष कलाधर पौडेल प्रमुख अथिति रहेका थिए ।
वडा अध्यक्ष पौडेलले न्यू स्पिडी शिक्षा क्षेत्रमा अगुवा संस्था रहेको बताउँदै आगामी दिनमा शिक्षा क्षेत्रमा बिशेष भुमिका खेल्नुपर्ने बताए । सम्पूर्ण ज्ञानहरु विद्यालयका शिक्षक शिक्षिकाहरुले मात्रै सिकाउन नसक्ने भएकाले अभिभावकले समेत आफ्ना बाल बच्चाहरुलाई घरैबाट अध्ययन गर्ने वातावरण मिलाई दिनुपर्ने बताए ।
पछिल्लो समय शिक्षामा लगानी बढी भैरहेको बताउँदैं उनले शिक्षाको महत्वलाई बुझेर आफ्ना बाल बालिकाहरुलाई सहि र गुणात्मक शिक्षा दिन अभिभावकहरुलाई आग्रह गरे ।
प्याप्सन चितवनका अध्यक्ष तथा हिमालय आवासीय मा.वि का प्राधानाध्यापक पशुपति शर्मा उपाध्यायले विद्यालयहरुले प्रतिस्पर्धा र देखावटी भन्दा पनि गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको बताए ।
प्याप्सन चितवनका सचिव तथा स्काइराईडर आवासीय मा.वि का प्राधानाध्यापक मदन पुरीले योजनाबद्ध रूपमा शिक्षालाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष रमेश राना मगरले विद्यार्थीहरुको हरेक गतिविधिहरुलाई अभिभावकले पनि नियाल्नुपर्ने बताए ।
यसैबिच, वार्षिक उत्सवको अवसर विद्यालयका छात्र–छात्राले चित्रकला प्रदर्शनी, विज्ञान प्रविधि प्रर्दशनी, फुड स्टल, विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम पोखरेलले जानकारी दिए ।
विज्ञान प्रविधि प्रर्दशनीमा हाइड्रो पावर, रकेट, सौर्य बत्ती, माईक्रोस्कोप, पानी शुद्धिकरण प्रविधि, स्मार्ट सिटीको परिकल्पना, हरियाली शहर, फुलवारी लगाएतका विज्ञान सम्बन्धि तयार पारिएका नमूनाहरु शिक्षक, अभिभावक तथा अन्य विद्यार्थीलाई देखाएका थिए ।
२०५० सालमा स्थापना भएको विद्यालयमा हाल पाँचसय भन्दा बढी विद्यार्थीहरु अध्ययरत रहेकाछन् ।
विद्यालयका प्राधानाध्यापक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याप्सन बागमती प्रदेशका सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम पोखरेल, विद्यालयका पूर्व प्राधानाध्यापक एंव शिक्षाविद बसन्त प्रसाद अधिकारी, शिक्षक अभिभावक संघकी सदस्य सम्झना थापा, श्री कृष्ण टोल विकास संस्थाका अध्यक्ष हेमलाल बराल, उन्नती टोल विकास संस्थाका अध्यक्ष यम प्रसाद भट्ट, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावकहरुको सहभागिता रहेको थियो ।
विद्यालयकी शिक्षिका पुजा श्रेष्ठले सञ्चालन गरेकी कार्यक्रममा शिक्षिका सुष्मा तामाङले स्वागत मन्तव्य राखेकी थिईन् ।