जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा शिक्षा क्षेत्रको अवस्था भद्रगोल देखिएको छ । संविधानमा स्थानीय तहलाई अधिकार दिए पनि शिक्षामा सुधार आउनुको साटो लथालिंग र वित्तीय अनुशासनको आभाव देखिएको छ ।
महालेखापरीक्षक कार्यालयको ५८औं प्रतिवेदनमा जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा क्षेत्रको अवस्था निकै दयनीय रहेको उल्लेख छ ।
उपमहानगरका दिवा खाजा खर्चमा समेत अनियमितता देखिएको छ । पालिकाले ४८ वटा विद्यालयलाई एक करोड ५० लाख ७९ हजार ६ सय ८३ रुपैयाँ निकासा दिएको छ । विद्यार्थीको संख्या, हाजिर भएको दिन र विद्यार्थीलाई खाजा खुवाएको सुनिश्चित हुने प्रमाण पेस गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
कक्षा १ देखि १० सम्म विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तकबापत ७६ लाख रुपैया खर्च गरेको छ । तर सो पाठ्यपुस्तक पाएको वा नपाएको, त्यसको अनुगमनको आभावसमेत देखिएको छ ।
उपमहानगरपालिकाले विद्यार्थीहरूलाई छात्रवृत्तिबापत ४९ लाख २० हजार रुपैयाँ वितरण गरिएको छ । तर, त्यसको प्रतिवेदनसमेत नपाइएको महालेखाले जनाएको छ । उपलब्ध गराइएको छात्रवृत्तिमा दलित, अपांगता, छात्रछात्रालाई उपलब्ध गराइएको विवतरणसमेत उपलब्ध नभएको महालेखाले औंल्याएको छ ।
अनुदानबापत मदरसालाई उपमहानगरपालिकाले ३६ लाख १५ हजार रुपैयाँ निकासा गरेको छ । उपमहानगरपालिकाले निर्माण काम सम्पन्न नै नभएको अवस्थामा समेत गोगलप्रसाद नमुना माध्यमिक विद्यालयलाई ५१ लाख ५६ हजार नौ सय ९९ रुपैयाँ र यज्ञवल्क्य संस्कृत विद्यालयलाई ४९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको पाइएको छ ।
दुवै विद्यालयले नियमविपरीत कार्य गरेको र महलेखाले विद्यालयको निर्माण कार्यको अनुमगन गर्ने पदाधिकारी तथा विद्यालयलाई कारबाही गर्न सुझाव दिएको छ ।