चितवन। भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय सरकारले सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि अभिभावक भएर उनीहरुको लालनपोषण र शिक्षामा जोड दिएको बताउनु भएको छ ।
शारिरिक रुपले सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि शैक्षिक तथा आर्थिक वृत्ति विकासमा स्थानीय सरकारले विशेष प्रथामिकताका साथ कामहरु गर्दै आइरहेको समेत उल्लेख गर्नुभयो ।
राष्ट्रिय बहिरा महासंघ नेपालले मगलबार भरतपुरमा आयोजना गरेको समावेशी शिक्षा परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले बहिरा तथा अपांगता भएका बालबालिकाको शिक्षा र भाषाको पहुँचमा वृद्धि गर्न सांकेतिक भाषाको प्रयोगलाई अझ शशक्त रुपमा लैजान आबश्यक रहेको प्रष्ट पार्नुभयो ।
नयाँ संविधानले अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको स्मरण गर्दै उहाँले बहिरा र दृष्टिबिहीनलाई देशले गर्व गर्नलायक नागरिक बनाउन सरकारले प्रथामिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
अपाङ्गता, विशिष्ठ क्षमता भएका व्याक्तिहरुका लागि भरतपुर महानगरपालिकाले आगामी दिनमा ठोस कार्य गर्नेमा प्रतिबद्धता समेत जाहेर गर्नुभयो । साथै उहाँले आगामी दिनमा बाहिरोपना भएका नागरिकको अधिकार शुनिश्चित हुने गरि योजना बनाएर लागु गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।
राष्ट्रिय बहिरा महासघ नेपालले भरतपुर महानगरपालिकामा समावेशी शिक्षा परियोजना मार्फत जटिल अपाङ्गता भएका बालबालिकाहरुलाइ शिक्षा सम्बन्धि कार्यहरु सन्चालन गर्दै आइरहेको छ । परियोजनाको कार्यक्षेत्र चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ ।सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुलाई बहिरा भन्ने गरिन्छ । राष्ट्रिय बहिरा महासघ नेपालले एक जिल्लामा एक स्थानीय बहिरा सघ र एक बहिरा बिद्यालयको निति अनुसार काम गर्दै आइरहेको छ । उक्त नीति अनुसार स्थानीय बहिरा संघहरुको गठन र उनीहरूको क्षमता अभिवृद्धि, नेतृत्व तथा जागरूकता, बहिरालाई दोभाषे सेवा, अधिकार, सामाजिक समानता र भेदभाव मुक्त बहिरा समुदायका लागि पैरवीका कार्यहरु हुँदै आइरहेका छन् । तर अझै पनि बहिरा व्यक्तिहरूसँग सञ्चार, शिक्षा, स्वास्थ्य, सीप प्रशिक्षण, र रोजगारीमा पहुँच पुग्न सकिरहेको छैन ।
कार्यक्रममा भरतपुर १० का वडा अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनाल,६ का अध्यक्ष कृष्णलाल श्रेष्ठ,स्वास्थ तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल लगायतले अपाङ्ग तथा बहिरा ब्यक्तिहरुको सवालमा भएका कार्यहरु एवं समस्याहरुको बारेमा साझा धारणा राखेका थिए ।
चितवन बहिरा सघका अनुसार जिल्लामा ८० जना सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । नेपालमा हाल ३ लाखको हाराहारीमा सुनाइ सम्बन्धि अपाङ्गता भएका बहिरा ब्यक्तिहरु रहेको राष्ट्रिय बहिरा महासघ नेपालले जनाएको छ। नेपमा २४ बहिरा बिद्यालय र १७४ बहिरा श्रोत कक्षा छन् ।