चितवन। कालिका नगरपालिका वडा नम्वर ११ मा एक्सरे सहितको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कालिका नगरपालिका वडा नम्बर-११ को आयोजना तथा कालिका नगरपालिकाको सहकार्य रहेको सो शिविर मानव बिकास तथा सामुदायिक सेवा ललितपुरद्वारा संचालित स्वास्थ्य सुधार परियोजना चितवनको आर्थिक सहयोग तथा रत्ननगर-१४ स्थित गुन्जमान सिंह अस्पतालको प्राविधिक सहयोगमा संचालन भएको हो।
शिविरमा भिडियो एक्सरे सहित नि:शुल्क स्वास्थ्य शिविर संचालन भएको थियो। कालिका नगरपालिकाकि उप-प्रमुख बिमला तामङको प्रमुख आतिथ्यता रहेको सो शिविरमा चार सय जनाले सेवा लिएका थिए।
एकदिने सो शिविरमा विभिन्न बालरोग, स्त्रीरोग, हाड जोर्नी, नाक कान घाँटी , जनरल मेडिसिन, ल्याब, फिजियोथेरापी, भिडियो एक्सरे, फार्मेसी लगायतका सेवा प्रदान गरिएको थियो।
आफ्नै घर आँगनमा गुणस्तरीय स्वास्थ्य सेवा पाएकोमा स्थानिय दंग रहेको वडाध्यक्ष कृष्ण बहादुर प्रजाले बताउनुभयो।