चितवन । कालिका नगरपालिका वडा नं ७ मा रहेको जुटपानी खानेपानी सरसफाई उपभोक्ता संस्थाको १०औं बार्षिक साधारण सभा सम्पन्न भएकोछ ।शनिवार सम्पन्न १०औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार आर्थिक बर्ष २०७९/८० मा सो संस्थाले ९४ लाख ४० हजार ४ सय ५१ रूपैँया आम्दानी गर्न सफल भएको हो ।
५ शीर्षकमा आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र ७० लाख ३० हजार ५ सय ६५ रूपैँया आम्दानी गरेको हो । २०६५ सालमा स्थापना भएको सो संस्थाका ३ हजार ७ सय ४० जना उपभोक्ता रहेको छ ।
कालिका नगरपालिकाका मेयर बिनोद रेग्मी अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष होम वहादुर गुरुङले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम भावि कार्ययोजना, सचिव सन्तोष भण्डारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रितु भट्ट पाठकले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक बालकृष्ण अधिकारीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कालिका नगरपालिकाकी उप मेयर बिमला तामाङ, पदमपुर खानेपानी संस्थाका अध्यक्ष तथा वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, वडा नं. १ का वडा अध्यक्ष सन्तवीर स्याङदान, प्राविधिक ईन्जिनियर होमनाथ घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रम सचिव सन्तोष भण्डारीले सञ्चालन गरेका थिए । कार्यक्रममा कर्मचारी तथा संस्थाको संस्थागत विकासमा योगदान गरेकाहरुलाई सम्मान गरिएको थियो ।