चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको पहिलो आधार सडक भएकाले सडकलाई प्राथामिकता दिएको बताउनुभएको छ ।
शनिबार नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख दाहालले सडक पूर्वाधार निर्माण भएपछि मात्रै जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले भरतपुरको विकास यतिकै नभएको बताउदै उहाँले जनप्रतिनिधिको सक्रिय पहल र आमजनताको इच्छा चाहानाले मात्र भरतपुरको विकास सम्भव भएको प्रष्ट पार्नुभयो ।
‘बजेट सजिलै आउँदैन,उहाँले भन्नुभयो,‘एक पटक गएर हुदैन। पटक पटकको पहल, सक्रियाताले बजेट आउँछ । हिजोको दिनमा १० लाखको बजेट ल्याउन गाँउबाट डेलिगेशन जानुपर्ने अवस्था थियो।’
प्रमुख दाहालले नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाले मानविय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुराएको अतुल्नीय योगदानको उच्च कदर गर्नुभयो ।
उहाँले गीतानगर उपशाखाको भवन निर्माणका लागि जग्गादाता जयलाल पौडेलले पुराउनु भएको योगदान र भवन निर्माण गर्ने स्थानीय दानवीरलाई धन्यवाद व्यक्त गर्नुभयो ।
भरतपुर महानगरपालिका, स्थानीय चन्दाताको सहयोगमा रु १४ लाख ८३ हजार भवन निर्माण भएको हो ।
प्रमुख दाहालले भरतपुरको भगिनी सम्बन्ध स्थापना भएको जापनको यकोसुका सहरबाट ५÷६ वटा एम्बुलेन्स सहयोग आउन लागेको र एक थान गीतानगर उपशाखालाई प्रदान गरिने बताउनुभयो । रेडक्रसको जिल्ला भवन निर्माण गर्न महानगरबाट सहयोग भएको र गैर अवासीय नेपाली सघ एनआरएनएबाट सहयोग भएको रक्त सञ्चार एम्बुलेन्स पनि हस्तान्तरण गरिएको बताउनुभयो ।
कार्यक्रममा रेडक्रसको भवन निर्माण गर्न सहयोग पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारी, वडा अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राजेन्द्र साखाीलगायतको उपस्थिति रहेको थियो।