चितवन । भरतपुर महानगरपालिकाले ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागेको भरतपुर भ्रमण वर्ष २०२४ स्थगित भएको छ । यसअघि विंस. २०८० साललाई भ्रमण वर्षका रुपमा मनाउने भनिएकोमा अन्तिम समयमा पुगेर रोकिएको थियो ।
सन् २०२४ मै उद्घाटन गर्नेगरी हाललाई भ्रमण वर्ष स्थगित गरिएको हो । महानगरको आज बसेको कार्यपालिका बैठकले जनवरी १ तारिखमा उद्घाटन गर्न लागेको भ्रमण वर्ष २०२४ स्थगित गर्ने निर्णय गरेको हो । विस्तारको क्रममा रहेका पुलचोक–गोन्द्राङ सडक र नारायणगढ–बुटवल सडकमा धुलोले सास्ती पाइरहेका छन् ।
त्यस्तै, नारायणगढ–मुग्लिन सडक पनि पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएकाले भ्रमण वर्ष हाललाई स्थगित गरिएको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र रानाले बताए । पुस २२ गते हुने महानगरले नगरसभाले भ्रमण वर्ष उद्घाटनको मिति तोक्ने रानाले जानकारी दिए । भ्रमण वर्षको तयारी एवम् प्रचारप्रसारमा महानगरले लाखौँ रुपैयाँ खर्च गरिसकेको छ ।