चितवन। काठमाडौंमा सम्पन्न सातौं दक्षिण एसियाली करातेका पदक विजेता चितवनका दुई खेलाडी र प्रशिक्षक सम्मानित भएका छन् ।
नेपाल सितोरियो कराते संघ भरतपुर महानगर समितिले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल पार्वती गुरुङ र रजत पदक विजेता निक्षा थापा मगरलाई नगदसहित सम्मान गरेको हो । यस्तै प्रशिक्षक दुर्गा कुमाललाई पनि संघले नगदसहित सम्मान गरेको छ ।
संघले आज (शनिबार) एक कार्यक्रमकाबीच पदक विजेता पार्वती र निक्षालाई जनही दश-दश हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो । यस्तै प्रशिक्षक कुमाललाई पाँच हजार रुपैयाँसहित सम्मान गरिएको संघका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो ।
पार्वतीले २१ वर्ष मुनी ४५ केजी तौल समूहमा नेपालका लागि स्वर्ण पदक जित्न सफल भएकी थिईन् । यस्तै निक्षाले २१ वर्ष मुनी ४० केजी तौल समूहमा रजत पदक जितेकी थिईन् । राष्ट्रका लागि पदक जितेका खेलाडीहरुलाई हसौला प्रदान गर्नका लागि सम्मान गरिएको संघका अध्यक्ष कार्कीको भनाइ छ ।
कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल सितोरियो कराते संघ बागमती प्रदेश अध्यक्ष गगन लामा प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका १ का वडाध्यक्ष केशव महर्जन, ट्राफिक प्रहरी कार्यलय बागमती प्रदेशका उप-प्रमुख श्रीराम भण्डारी, नेपाल सितोरियो कराते संघ चितवनका अध्यक्ष चित्रबहादुर राना, संघ जिल्ला कार्यसमिति र भरतपुर महानगर समितिका पदाधिकारीहरु उपस्थित थिए ।