काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने प्रतिबद्धतासहित वैचारिक कार्यदिशा तय गरेको छ।
मंगलबारदेखि महोत्तरीको जलेश्वरमा जारी संयुक्त बैठकमा रास्वपाको औपचारिक राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ सहितकाे प्रस्तावना पारित गरेकाे हो ।
“राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,” रास्वपाले पारित गरेको प्रस्तावनामा भनिएको छ, “यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्णलोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।”
रास्वपाले शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरु संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य संचालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गरेको छ । सबैप्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्वोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने प्रतिवेदनमा जनाइएको छ ।