चितवन। चितवन राष्ट्रिय निकुञ्जमा तस्करहरुले एकै पटकमा २ वटा दुर्लभ एकसिंगे गैंडामारेपछि नेपाली कांग्रेस चितवनको ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दुई वटा पोथी गैंडा मारिएको घटनाले नेपाली कांग्रेस चितवनलाई गम्भीर बनाएको जनाएको हो ।
जिल्ला सभापति राजेश्वर खनालद्वारा प्रकाशित विज्ञप्तिमा गैंडा तस्करहरूले दुई दशक भन्दा बढी पुरानो विधिको प्रयोग गरी दशै तिहारको बीचमा तस्करी गर्नु अत्यन्तै शंकास्पद घटनाको रूपमा रहेको जनाईएको छ । विज्ञप्तिमा भनिएको छ “योजनाबद्ध रूपबाट गल, गैची र कोदालो जस्ता घरेलु हरियारको प्रयोग गरी खाडल बनाई गैंडालाई धरापमा पारिएको घटना नियोजितपूर्ण छ ।”
दुर्लभ एक सिङ्गे गैंडाको प्रमुख बासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा घटेको यस प्रकारको घटनाले राष्ट्रिय निकुञ्ज र निकुञ्ज भित्र रहेका वन्यजन्तुको सुरक्षा र निकुञ्जको सुरक्षाको जिम्मा लिएको प्रशासनमाथि नै प्रश्न चिन्ह खडा भएको विज्ञप्तिमा जनाईएको छ । शसस्त्र द्वन्द्व कालमा भएका गैंडा तस्करीको घटनालाई विर्साउने गरी भएको पछिल्लो घटनाले पर्यावरण तथा प्रजाती संरक्षणमा समेत विश्वसामु नेपालको साख धमिलो भएको विज्ञप्तिमा जनाईएको छ ।
विज्ञप्तिमा भनिएको छ “यस प्रकारका घटनाहरूको उच्चस्तरीय छानबिन गरी दोषी उपर कानुन बमोजिम कारवाही गर्न र निकुञ्ज क्षेत्रको सम्पूर्ण सुरक्षाको वातावरण तयार गर्न गम्भीर ध्यानाकर्षण गराउँदछौं ।”