चितवन। भरतपुर महानगरपालिकाले तिहारलक्षित बजार अनुगमन सुरु गरेको छ ।भरतपुर महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले आजदेखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो ।
सोमबारको अनुगमनमा नारायणगढका केही मिठाइँ पसलहरु भने गुणस्तरहिन र दुर्गन्धित रहेको पाइएको हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ । ती पसलहरुलाई सरसफाइँमा ध्यान दिन, सावधानी अपनाउन, कालोबजारी नगर्न र उपभोक्ताहरुलाइ जथाभावी रुपमा नक्कली सामान नबेच्न पनि समितिले ब्यबसायीहरुसँग अनुरोध गरेको छ । केही मिठाइ पसलहरुलाइ भने सरसफाइ गरेर मात्रै पसल सन्चालन गर्न समितिले निर्देशन समेत दिएको छ ।
यदि महानगरको अनुरोधलाई आनाकानी गरेमा वा आफुखुसी बस्तु बिक्रीबितरण गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि समितिले जनाएको छ । त्यस्तै अनुगमन टोलीले नारायणगढ क्षेत्रमा रहेका केही एग्रोभेटहरुमा पनि छड्के अनुगमन गरेको छ । अनुगमनमा एग्रो र भेट एकै स्थानमा राखेको, बिषादीलाई जथाभावी रुपमा राखिएको, म्याद गुज्रेका एग्रो र भेटका सामाग्रीहरु पनि एकै ठाउँमा राखिएको भेटिएको छ ।
अनुगमनका संयोजक तथा महानगरका उपमेयर चित्रसेन अधिकारीले तिहारमा बढी खपत हुने मिठाई, बिधुतीय सामान, भाडाकुडा र भाइमसलामा केन्द्रित गरेर बजार अनुगमन सुरु गरिएको जानकारी दिए । ‘तिहारको मुखमा कुनै पनि उपभोक्ता नक्कली र अखाद्य बस्तु खरिदमा नठगिउन भन्ने हेतुले हामीले अनुगमनलाइ कडाइका साथ लागू गरेका हौ’ उनले भने, ‘महानगरको यो अनुगमन तिहार तथा छठ पर्व सम्म यथावत रुपमा कायम रहनेछ ।’
यस्तो अनुगमन नयाँ नभएर बिगत कै निरन्तरता भएको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिए । स्वयं उपभोक्ता सचेत नभएसम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने उनी बताउँछन् ।
भरतपुर महानगरपालिकाले गर्दै आइरहेको नियमित दैनिक स्वच्छ बजार अनुगमनले ब्यवसायी र उपभोक्ता दुबैलाई प्रत्यक्ष रुपमा फाइदा पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरीक्षक बन्दना पन्तले जानकारी दिइन् । ‘ब्यवसायीहरु सचेत र सजग भएका छन् भने उपभोक्ताहरु पनि कस्तो सामान प्रयोग गर्ने,उत्पादन मिति र समाप्ति मिति,खान योग्य/ अयोग्य लगाएतका थुप्रै विषय बस्तुहरुसँग जानकार भएका छन् ।’ ‘यसलाई महानगरको महत्वपूर्ण उपलब्धि र ठूलो सम्पत्तिको रुपमा लिनु पर्दछ’, पन्तले भनिन् ।
अनुगमनका क्रममा नारायणगढमा भेटिएका अनमोल सत्यालले महानगरले गर्दै आएको दैनिक नियमित बजार अनुगमनले आफू जस्ता सयौं उपभोक्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाइदा पुगेको बताए । अनुगमनमा समितिका सदस्य गोपाल दराइ, वडा न ३ का अध्यक्ष बिकास थापा,सदस्य माधब अर्याल,पशु चिकित्सक तथा मत्स्य विज्ञहरु, पत्रकार, नगर प्रहरी लगायतको उपस्थिति रहेको थियोे ।