चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त संचार केन्द्र निर्माण गर्न सकिने बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले शुक्रबार भरतपुरको मेघौलीमा आयोजना गरेको प्रधानध्यापक, क्याम्पस प्रमुख र प्राचार्यका लागि एक दिने गोष्ठीलाई उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा रक्त संचार केन्द्र निर्माण गर्न सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
‘भरतपुर अस्पताल परिसरमा केन्द्रका लागि ५ कठ्ठा जग्गा व्यवस्थापन गर्न सकिन्छ, उहाँले भन्नुभयो,‘क्यान्सर अस्पतालमा पनि केन्द्र निर्माण गर्न सकिन्छ । दुबै अस्पतालमा सम्भव नभए महानगरले सार्वजनिक जग्गा खोजी गर्छ ।’
महानगर प्रमुख दाहालले भरतपुरमा भईरहेको रगतको अभावलाई परिपूर्ती गर्न रक्त सञ्चार केन्द्रको आवश्यकता वृद्धि हुँदै गइरहेको बताउनुभयो ।पछिल्लो समय भरतपुरमा रक्त दान गर्नेलाई अण्डा तथा जुस खानको लागि एक व्यक्ति बराबर रु १०० उपलब्ध गराउदै आएको छ ।मेडिकल सिटीको भरतपुरमा भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा रगतको बढी माग छ । चितवनमा भरतपुर अस्पताल, क्यान्सर र केही निजी अस्पतालहरुमा ब्लड बैँकहरु छन् ।
महानगरपालिका प्रमुख दाहालले भरतपुरमा विषेशज्ञ सेवासहितको सेवा दिने अस्पताल धेरै भएकाले रगतको माग बढ्दै गएको उल्लेख गर्नुभयो ।नेपाल रेडक्रस सोसाइटीका भवन निर्माण, एम्बुलेन्स खरिदमा साझेदारीमा धेरै कार्य गरेकाले रक्त संचार केन्द्र निर्माण पनि महानगरपालिका सधैब तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले रेडक्रसको मर्मलाई आत्मसाथ गरी सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो । उपप्रमुख अधिकारीले रेडक्रस र स्काउटलाई प्रर्वद्धन गर्न विषेश कार्यक्रममार्फत सहकार्य भईरहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडल लगायत रेडक्रसका पदाधिकारीहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थिाये ।
एक दिने गोष्ठीमा रेडक्रसलाई विस्तार गर्ने, थप नयाँ कार्ययोजना साथ अगाडि बढ्ने विषयमा प्रशिक्षण दिइने बताइएको छ ।