चितवन । चितवनमा राष्ट्रपतिबाट कैद छुट पाएर जेल मुक्त भएका व्यक्ति ६ महिना पनि नपुग्दै पुनः पक्राउ परेका छन्। गत गणतन्त्र दिवसमा अवसरमा ५० प्रतिशत कैद छुट पाएर कैदमुक्त भएका चितवनका ५५ वर्षीय रामचन्द्र थापा फेरि पक्राउ परेका हुन्।
कात्तिक ८ गते भरतपुर महानगरपालिका वडा नं १ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई चितवन प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी थापाले अपहरणको धम्की दिएको जिल्ला प्रहरी कार्यालय चितनवका प्रहरी नायव उपरीक्ष विजयराज पण्डितले जानकारी दिए ।
थापाले हिन्दी भाषा प्रयोग गरी २५ लाख रुपैयाँ नदिए सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै धम्की दिएको उनले बताए । प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहको कमाण्डमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको हो।
मकवानपुर हेटौडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका वडा नं ९ मा बस्दै आएका छन् । थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो ।
अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकोमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेको प्रहरीले जनाएको छ ।