चितवन । घाँस काट्ने क्रममा सोलार फेन्सको करेन्ट लागी माडीको कृष्णनगरमा एक युवकको मृत्यु भएको छ ।
बिहीबार साँझपखको सो घटनामा माडी-९, कृष्णनगर (टम्टा) निवासी बर्ष २८ का बिकल्प सुवेदीको मृत्यु भएको हो । सोलार फेन्सको करेन्ट लागी घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि बसन्तपुरस्थित बघौंडा अस्पताल ल्याइएकोमा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
सुवेदीको शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि भरतपुरस्थित जिल्ला सरकारी अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिनुभयो ।
मृतक सुवेदी माडी-९ का पूर्व वडाध्यक्ष एवं नेकपा एमाले माडीका ईञ्चार्ज शिवहरि सुवेदीका छोरा हुनुहुन्छ । सुवेदीको असामयिक एवं अकल्पनीय मृत्यु भएसंगै सुवेदीको परिवार र आफन्तसंगै र कृष्णनगर क्षेत्र शोकमग्न हुनपुगेको छ ।