धनगढी। सुदूरपश्चिम प्रदेश सांसद माया तामाङले पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन्। प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनले एकीकृत समाजवादीका पक्षमा सनाखत गराएकी हुन्।
उनले भनिन्, ‘मैले आफ्नो स्वार्थका लागि यो दल रोजेकी होइन।’
योसँगै प्रदेशसभामा एकीकृत समाजवादीका १४ जना सांसदले सनाखत गराएका छन्। सुदूरपश्चिम प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल बनेको छ। यसपछि माओवादी केन्द्र बनेको छ। माओवादीका १३ जना प्रदेश सभा सदस्य छन्।
यसअघि नेकपा एमालेका २४ जना (सभामुख)बाहेक प्रदेश सभा सदस्य रहेका थिए। प्रदेश सभामा नेपाली कांग्रेसका १२, एमालेका १० र तत्कालीन राजपाका दुई जना प्रदेश सभा सदस्य रहेका छन्। तत्कालीन राजपा पनि फुटेपछि दुई जना प्रदेश सभा सदस्य कता खुल्ने निश्चित भएको छैन।
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य हुने व्यवस्था छ। माओवादीले एमाले प्रवेश गरेका कारण एक जना झपट बोहरालाई हटाएपछि अब प्रदेश सभामा ५२ जना प्रदेश सभा सदस्य रहेका छन्। निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्ने समय दिएको छ।
नेकपा (एस) का पक्षमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पूर्व राज्यमन्त्री प्रकाश रावलले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्।
यसअघि भदौ १५ गते आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा (एस) को पक्षमा सनाखत गरिसकेका थिए।