चितवन। रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई नारायणगढमा स्वागत गरिएको छ । उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा आज नवनिर्वाचित अध्यक्ष एवम् कार्यसमितिलाई बधाई दिँदै स्वागत गरिएको हो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संघको गतिविधि र विगतका क्रियाकलापका बारेमा जानकारी गराएका छन् । दुई उद्योग वाणिज्य संघबीचको सहकार्यता र सहयोगका बारेमा व्यवसायिक ऐक्यबद्धता, आर्थिक सुस्ततालाई कसरी गतिशिल बनाउने भन्ने विषयमा सहकार्य गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शंकर गिरीले उद्योग वाणिज्य संघ चितवनले स्वागत तथा बधाई कार्यक्रम आयोजना गरी न्यानो आतिथ्यता प्रदान गरेकोमा धन्यबाद दिँदै उनले उद्योग वाणिज्य संघ चितवनसँग समन्वय र सहकार्यमा व्यवसायिक समस्या, चितवन जिल्लाको आर्थिक सामाजिक विकासमा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षत्रय चिरञ्जिवि सुवेदी, राजेन्द्र ओली र सिरिष पन्तले हामी चितवनका एउटै उद्देश्य लिएर गठित संघहरु व्यवसायिक समस्यामा एकै ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा आ–आफ्नो धारणाहरू प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरूको उपस्थिति रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रमअधिकृत गणेश सुवेदीले जानकारी दिए ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको स्वागत तथा बधाई कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गरेका थिए ।