चितवन। चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले हात्ती र सेनाको प्रयोग गरी मंगलबार दिउँसो माडी-९, कुसुमखोलामा २० वटा घर भत्काएको छ ।
निकुञ्ज रक्षक सेनाको बगहीँ पोष्टबाट २ वटा हात्ती लिई पुगेका सेना र निकुञ्जका कर्मचारी गरी ९ जनाको टोलीले कुसुमखोला गाउँस्थित २१ मध्ये २० वटा कच्ची घरहरु भत्काएका हुन् ।
जनता आवास कार्यक्रम अन्तरगत निर्माण भएको १ वटा बाहेक निकुञ्जले २० वटा घरहरु भत्काई आफूहरुलाई बेघर बनाइदिएको कुसुमखोलाबाट काजीमान चेपाङले जानकारी दिनुभयो ।
करीब ३ बर्षअघि हात्ती लगाई निकुञ्जले सो बस्तीमा आगजनी गरेको थियो भने गतबर्ष मंसिरमा स्थानीयकै घरबाट बञ्चरो र खुर्पा लिएर घरहरु भत्काएको थियो ।
जनताको घरमा आगजनी गरेको भन्दै व्यापक बिरोध भएसंगै निकुञ्जले आगो नलगाई पटक पटक घरहरु भत्काईदिने गरेको हो । कुसुमखोलामा चितवन र मकवानपुरका विभिन्न स्थानबाट आएका चेपाङ परिवारहरु बस्ने गरेका छन् ।