चितवन। चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग फेला परेको छैन ।
निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हर्दा खोला नजिक यही भदौ १२ गते गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैँडा झण्डै १५ महिना पहिला मरेको आशङ्का गरिएको छ । वरपर क्षेत्रमा खोजी गर्दा ११ खुर फेला परेका छन् । एउटा खुर र खाग नभेटिएपछि चोरीशिकारीले गैँडा मारिएको आशङ्का गरिएको छ ।
गँैंडाको कङ्काल भेटिएसँगै निकुञ्जको चोरीशिकार नियन्त्रण एकाइले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) सँग समन्वय गरेर खोजी कार्य अघि बढाएको छ । गैँडाको कङ्काल मात्रै भएकाले लिङ्ग र उमेर पहिचान हुन सकेको छैन । तिवारीले लामो समय भएकाले खाग उक्किएर हराएको पनि हुनसक्ने आशङ्का गर्नुभयो । उहाँले भन्नुभयो, “खाग नभेटिएपछि चोरीशिकारको आशङ्कामा अनुसन्धान अघि बढाएका छौँ ।”
गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारी गर्नेले मारेका थिए । सो घटनामा संलग्नलाई निकुञ्जले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । चालु आर्थिक वर्षमा यो सहित अर्काे एउटा गैँडा बाघको आक्रमणबाट मरेको छ । वर्षात्को समयमा गाडीबाट गस्ती गर्न कठिन हुने भएकाले चोरीशिकार हुनसक्ने भन्दै निकुञ्जले सुरक्षा व्यवस्था कडा पारेको छ ।