चितवन । चितवनका चेपाङ समुदायले शुक्रबार न्वागी पर्व अर्थात छोनाम पर्व मनाएका छन् । घैया धानको चामलको भात खाएर तथा ढ्याङग्रो ठोकेर यो पर्व मनाइएको छ ।
जिल्लामा समुहिक कार्यक्रम तथा चेपाङ समुदायले घरघरमा यो पर्व मनाएका छन् । रत्ननगरमा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रले न्वागी पर्बको अबसरमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । पछिल्लो समय चेपाङ समुदायका झाक्री (पान्दे) भेट्नै मुश्किल हुन्छ ।
तर केन्द्रका सञ्चालक केपिकिरण शर्माले सात जना पान्दे केन्द्रमै ल्याएर बालवालिकालाई पर्व मनाइदिएका हुन । धर्तीको पुजा गर्ने चेपाङहरुले मुख्य पर्वको रुपमा हरेक वर्ष भदौ २२ गतेका दिन न्वागी अर्थात छोनाम मनाउने गर्दछन् । नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेष पूजा गर्दै यो पर्व मनाइन्छ । यो दिन चेपाङहरुले घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।
केन्द्रमा भेटिएका सो समुदायका झाक्री राप्ती वडा नं १२ वाकराङका अमृतदलाल चेपाङले घैया धानको चामलको भात तथा अन्य मिठो मसिनो खाएर पर्व मनाउदै आएको बताए । आफुले उब्जाएको नयाँ अन्नबालीलाई पुजा गरेर यो पर्व मनाउछौं उनले भने न्वागीमा अन्नको पुजा गरेपछि मात्र त्यो अन्नलाई अरु दिनमा खाने चलन छ । झाक्रीहरुले अनिकाल नलागोस भनेर ढ्याङग्रो ठोकेर धर्तीको पुजा पुजा गर्ने गरेको उनले बताए । सक्नेले माछामासु समेत खान्छन् उनले भने नसक्नेले घैया धानको चामलको भात खाएर पर्व मनाउछन् । न्वागीले आपसी भातृत्व र मित्रतालाई बलियो बनाउने उनले बताए ।
यस पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर कसैले आफ्नै घरमा र सामूहिक रुपमा भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गर्छन् । पछिल्लो समयमा धर्म परिवर्तको लहर चेपाङहरुमा व्यापक बढ्दै गएको छ । केन्द्रका अध्यक्ष शर्माले ७० प्रतिशत चेपाङ समुदायले धर्मपरिर्वतन गरेको भन्दै चिन्ता व्यक्त गरे । चेपाङ डाँडामा विद्यालयको भवन भन्दा चर्जका भवन बढी देखिन थालेका छन् उनले भने धर्मपरिर्वतनले चेपाङको संस्कृति मासिदै गएको छ ।
केन्द्रमा आश्रित १४० जना बालवालिकालाई आफ्नो समुदायको धर्म, संस्कृति र चार्डपर्वको बारेमा जानकारी गराउन केन्द्रमै न्वागी पर्व मनाएको अध्यक्ष शर्माले बताए । औपचारिक कार्यक्रममा साहित्यकार सरिता तिवारी, रत्ननगर नगरपालिकाका कार्यपालिका सदस्य राजेन्द्र हमाल, व्यवसायी रुपेश दर्नाल लगायतको सहभागिता रहेको थियो । नेपालमा मकवानपुर, धादिङ, चितवनलगायत २६ जिल्लामा चेपाङहरुको वसोवास रहेको छ । नेपालमा चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६६ जना छ ।