चितवन। चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवनमा स्वागत गरिएको छ । उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले बिगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध जिल्ला प्रशासन कार्यालयसँग सुमधुर रहँदै आएको बताउँदै आगामी दिनमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गरे । कार्यक्रममा स्वागत गर्नु हुँदै अध्यक्ष श्रेष्ठले संघको सङ्क्षिप्त जानकारी दिँदै चितवन जिल्लाको आर्थिक समाजिक एवम् समग्र विकासका लागि जिल्ला प्रशासन कार्यालयसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले नवआगन्तुक जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्दै उनले विगत देखि चितवन जिल्लाका सरकारी निकायसँग भएको सुमधुर सम्बन्धका बारेमा बताउँदै उनले यस जिल्लाको शान्ति सुरक्षा एवम् आर्थिक सामाजिक विकासमा सधै सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष रमेशकुमार पियाले नव आगन्तुक प्रमुख जिल्ला अधिकारीलाई कार्यकाल सफलताको शुभकामना दिँदै उनले उद्योग वाणिज्य संघ–चितवनको विगतदेखि वर्तमानसम्मको इतिहासका बारेमा जानकारी गराउँदै उनले संघ व्यवसायीहरूको संस्था भएता पनि सामाजिक उत्तरदायित्वको कार्यमा निरन्तर लागिरहने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले चितवन आर्थिक सामाजिक एवम् रणनीतिक हिसावले महत्वपूर्ण जिल्ला भएको बताउँदै उनले उद्योगी व्यापारीको समस्या समधान गर्नका साथै निजी क्षेत्रको उत्थानमा सदैव सहकार्य गर्न तयार रहेको बताए । उनले चितवन जिल्ला पर्यटकीय हिसाबले नेपालकै पहिलो हुने विशेषता रहेको बताए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष राजन गौतम, संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत ३५जनाको उपस्थिति रहेको जानकारी उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले नारायणी अनलाइनलाई जानकारी दिए । कार्यक्रम संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तथा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।