चितवन । गृह मन्त्रालयले चितवनसहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ६ महिनामै सरुवा गरेको हो । सरकारले सामान्यत सिडिओलाई एक वर्षसम्म एउटै जिल्लामा काम गर्न दिने गर्छ ।
गृहले मंगलबार गरेको निर्णय अनुसार चितवनका प्रमुख जिल्ला अधिकारी पौडेललाई नुवाकोट पठाएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवनको सिडिओको रुपमा पठाउने गृहले निर्णय गरेको हो ।
तत्कालिन गृहमन्त्री रवि लामिछानेले पौडेललाई प्रमुख जिल्ला अधिकारीका रुपमा चितवन सरुवा गरेका थिए । पौडेलले २०७९ माघ १६ गते चितवनमा पहिलो हाजिरी गरेका थिए ।
त्यस्तै, नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरी पठाइएको छ भने धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेलाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।