चितवन । पशुमा लाग्ने रोग लम्पी स्किन रोग नियन्त्रणका लागि कालिका नगरपालिका क्षेत्रमा २७ सय ९३ वटा पशुमा भ्याक्सिन (खोप )लगाई सकिएको कालिका नगरपालिकाको पशुसेवा कार्यालय प्रमुख इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
साउन २५ गतेदेखि प्राविधिक सहितको टोली नगरपालिका अन्तर्गत प्रत्येक वडा वडामा पुगेर पशुहरुलाई भ्याक्सिन(खोप ) लगाउन खटिएका छन् । अहिले सम्म कालिका नगरपालिकाको वडा नं. १,६, ७ का पशुहरुमा भ्याक्सिन लगाई सकिएको छ भने वडा नं. ८,९ र १० मा भ्याक्सिन लगाउने क्रम सुरु भएको छ ।
यसैबीच आज( मंगलवार)देखि पदमपुर सेक्टरमा पनि भ्याक्सिन लगाउन सुरु भएको छ । कालिका नगरपालिकाको वडा नं.२ बाट भ्याक्सिन लगाउन सुरु गरिएको हो । वडा कार्यालयसँगैको मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी भ्याक्सिन सेवाको बारेमा जानकारी समेत दिएको छ ।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले पशुपालनगर्ने कृषकहरुका लागि नगरपालिकाले पशुपालनगर्ने किसानहरुलाई थुर्पैखालको सेवा दिँदै आएको जानकारी दिनुभयो । महामारीको रुपमा फैलिदैं आएको लम्पी स्किन रोग नियन्त्रणका लागि सञ्चालन भइरहेको निशुल्क भ्याक्सिन सेवासँगै पशुमा लाग्ने अन्य थुर्पै खालका रोगहरुको उपचार निशुल्क रुपमा गर्दै गएको बताउनुभयो । नगरक्षेत्रभित्रका पशुपालनगर्ने किसानहरुलाई पर्ने समस्याको विषयमा नगरपालिका अन्तर्गत पशुसेवा शाखा मार्फत स्थानीय तह सहयोगी बनेर उभिने गरेको बताउनुभयो ।
नगरपालिकाले दिँदै आएको सेवा सुविधाको विषयम किसानहरुले जानकारी पाउन नसक्दा सेवा सुविधावाट लाभ लिन नसकेको उहाँले बताउनुभयो । पदमपुरमा किसानहरुको दुग्ध संकलनगर्दै आएको पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाले नगरपालिकावाट दिइने सेवा सुविधाको विषयमा सबै किसानहरुलाई जानकारी दिन समेत वडा अध्यक्ष पौडेलले सहकारीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङले किसानहरुको पक्षमा स्थानीय तह सधै सक्रिय भएर लाग्ने बताउनुभयो । देशैभर महामारीको रुपमा फैलिरहेको लम्पी स्किन विरुद्धको खोप लगाउन नगरपालिका सफल भएको उहाँले बताउनुभयो । कयौं स्थानीय तहले यो विषयमा मेसो समेत नपाएको बेला हाम्रो प्राविधिक सहितको टिम किसानहरुको गोठगोठमा पुगेर सेवा दिन सक्नु सामान्य होइन उहाँले भन्नुभयो । यसले पशुमा लाग्ने रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कालिका नगरपालिकाका पशु शाखा प्रमुख इश्वरी पौडेलले भदौं १० गते सम्म सबै किसानहरुको गोठगोठमा पुगेर भ्याक्सिन सेवा दिइ सक्ने लक्षय रहेको बताउनुभयो । आजवाट पदमपुर सेक्टर अन्तर्गत कालिका नगरपालिकाको वडा नं. २,३,४, ५ मा भ्याक्सिन लगाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
१० जना प्राविधिक सहितको टोली कुनैपनि घर नछुट्ने गरी परिचालन भएका छन् । पदमपुर सेक्टरमा पर्सी सम्ममा सक्ने योजना छ । त्यसपछि कालिकाको वडा नं. ११ तर्फ टोली परिचालन हुनेछ ।
प्राविधिक सहितको टोलीघरघरमै पुगेर गोठको अवस्था समेत निरीक्षणगरिरहेका छन् । नगरपालिकाले ८ हजार पशुलाई भ्याक्सीन लगाउने लक्ष्य लिएको छ । कालिकामा गाई,भैसीमा पनि लम्पी स्किन रोग देखिएको छ । नगरक्षेत्रका सबै वडामा लम्पी स्किनको संक्रमण देखिएको पशु शाखा प्रमुख पौडेलले बताउनुभयो । पौडेलका अनुसार यो रोगको संक्रमणवाट नगरक्षेत्रमा ११ वटा गाई मरेका छन् ।