काठमाडौँ। केपी शर्मा ओली एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मात्रै होइनन्, प्रमुख प्रतिपक्षी दलका नेतासमेत हुन् । संसदमा रहेको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसभन्दा थोरै कम संख्या भएको दल एमाले हो । जुनबेला पनि एमाले सरकारको नेतृत्व गर्न सक्ने हैसियतमा रहेको छ ।
तर, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता रहेका ओली आफ्नै बोलीमा टिक्न नसकेको आरोप लाग्ने गरेको छ । आइतबार एमाले मुख्यालयबाट ओलीले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरे । ओलीले भने, ‘यस्तो नालायक, यति अयोग्य र भ्रष्ट सरकारको नेतृत्व गर्न अप्ठ्यारो लाग्नुपर्ने हो, आफैंले राजीनामा गर्नुपर्ने हो ।’
ओलीले प्रधानमन्त्रीको राजीनामा मागेको यो पहिलोपटक भने होइन । यसअघि पटकपटक उनले प्रधानमन्त्रीको राजीनामा माग गरिसकेका छन् । कहिले प्रधानमन्त्री त कहिले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा ओलीले माग्दै आएका छन् । कहिले अर्थमन्त्री प्रकाशशरण महत त कहिले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा दिनुपर्ने अडान ओलीको हुन्छ ।
ओलीले राजीनामा माग्ने अडान दरो रूपमा राख्ने गर्छन् । तर, उनको अडान धेरैबेर टिक्दैन । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेताले राजीनामा माग्नुको गम्भीर अर्थ हुन्छ । तर, ओलीमा यो गम्भीरता नभएको टिप्पणी हुने गरेको छ । हावातालमा राजीनामाको कुरा गर्ने र हावातालमै त्यो कुरा सकिने गरेको छ ।
आखिर किन ओली आफ्नै मागमा अड्न नसकेका हुन् ? राजीनामाको विषयलाई उनले हलुका रूपमा लिने गरेका छन् । आफ्नो जिम्मेवारी एवं पदीय मर्यादाविपरीत उनले हावादारी कुरा गर्ने गरेको उनकै समकक्षीले भन्ने गरेका छन् ।
सरकार अयोग्य र भ्रष्टाचारको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिन उनले सुझाव दिए । यस्तै, गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको भन्दै उनले कटाक्ष गर्न भ्याए ।
‘प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अप्ठेरो हुनुपर्ने हो । उहाँले आफैं राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं र नवौं आश्चर्य भन्नुपर्छ यसलाई । यो ठूलो आश्चर्यको विषय हो’ ओलीले भने ।
यसअघि संसद् अवरुद्ध गर्दै राजीनामा माग गरेका ओली प्रमुख तीन दलको बैठकपश्चात् आफ्नो मागबाट पछाडि हटेका थिए । त्यसलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले प्रमुख दलको बैठक प्रतिप्रश्न गर्दैै केवल ‘बार्गेनिङ’का लागि बैठक हुने गरेको टिप्पणी गरेका थिए ।
जिम्मी कार्टर अमेरिकाको ४९औं राष्ट्रपति हुन् । उनी सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका राष्ट्रपति रहेका थिए । एक अवधि मात्र राष्ट्रपति रहेका कार्टरले आउँदो अक्टोबर महिनामा जीवनको ९९ वर्ष पूरा गरी १००औं वर्षमा प्रवेश गर्नेछन् । शारीरिक मात्र नभई मानसिक रूपमा पनि उनी शिथिल भइसकेको हुन सक्छ । तर, आजको अवस्थामा पनि उनले कुनै कारणवश वर्तमान राष्ट्रपति जो बाइडनको राजीनामा माग गरे भने त्यो निकै गम्भीर र चर्चाको विषय बन्छ ।
हाम्रो मुलुकमा मुलुकको प्रमुख प्रतिपक्ष र प्रथम दलको हाराहारीमा रहेको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले वहालवाला प्रधानमन्त्रीको राजीनामा माग्छन् । तर, त्यो खबर सामान्य हावाहुरीजस्तै बन्न पुग्छ, किन ? त्यत्रो गह्रौं नेताको बोली किन त्यति हल्का ? भँगेरा मार्न तोप प्रयोग गर्ने बानीले पो हो कि ! जतिबेला मन लाग्यो त्यतिबेला प्रेस सल्लाहकारदेखि मन्त्री हुँदै प्रधानमन्त्रीसम्म जोसुकैको राजीनामा माग्दै हिँड्ने अनि तत्कालै ‘सम्झौता’ भएपछि चटक्कै बिर्सिदिने ‘उदार’ स्वभावले हो ? चिन्ता बुढी मरिन् भन्ने होइन, काल पल्क्यो भन्ने हो ! चिन्ता कसको राजीनामा मागियो भन्ने पनि होइन, बरु राजीनामा माग्ने व्यक्तित्वको र ओहदाको अनि गरिमाको अवमूल्यनको हो ! यस्तो गम्भीर विषय हास्य कलाकारको तत्कालीन स्वस्फूर्त प्रतिक्रियाजस्तो चाहिँ हुनुहुन्न ।