काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महरामाथि सुन तस्करीमा संलग्न रहेको आरोप एकपछि अर्को गर्दै बढ्न थालेको छ । सरकारले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने भनिरहेको बेला भेपमार्फत तस्करी भएको सुनमा महराका बाउछोराको संलग्नता हुने गरि देखिएको फोन सम्वादको विषयले प्रचण्ड नेतृत्वको सरकारलाई दबाब परेको मात्रै छैन, यो सरकारले मुख्य दोषिहरुलाई जोगाउने नै नियत राखेको छ भन्दै प्रश्न गर्न थालिएको छ ।
रोल्पामा शिक्षण गर्दै गर्दा कम्युनिष्ट राजनीतिमा होमिएका कृष्णबहादुर महरा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’का विश्वासपात्र मानिन्थे । तत्कालीन अवस्थामा समेत सरकारसँग शान्ति वार्तामा सहभागी हुने मौका पाउने गरेका महरा शान्ति प्रक्रियापछि निरन्तर सत्ता र शक्तिको वरिपरी नै रहे । पटक–पटक मन्त्री बन्नेदेखि सभामुखसम्म आइपुग्दा महराले चीनबाट पैसा मागेको आरोपदेखि बलात्कारको आरोप खेपे । बलात्कारमा अदालतबाट सफाई पाए पनि महराको राजनीति त्यसपछि भने सोचेजसरी बौरिन सकेको देखिन्न ।
महरा एकपछि अर्को विवादमा फसेपनि प्रचण्डले निरन्तर विश्वास गरिरहेको देखिन्छ । पछिल्लो समय महराको राजनीतिक जीवनलाई थप सहज बनाउन पार्टी प्रवक्ताको जिम्मेवारी दिइयो । प्रवक्ताबाट फेरि महरालाई अहिले पार्टी एकता गर्ने जिम्मेवारी सुम्पिइएको छ । माओवादी केन्द्रीय समिति बैठकपछि नेताहरुको जिम्मेवारी हेरफेर गर्दा महरालाई एकीकरण भाग पर्यो । महरालाई प्रवक्ताबाट हटाइनुको कारणबारे माओवादी वृत्तमा विभिन्न कोणबाट चर्चा हुने गरेको पनि छ ।
चीनसँग नजिकको सम्बन्ध विस्तारमा महरालाई पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले जितेको बताइन्छ । यसकारण पनि अहिले प्रवक्ताको जिम्मेवारीमा सापकोटा आइपुगेका छन् । तर, कठिन मोडको जिम्मेवारि महरालाई प्रचण्डले कारबाही स्वरुप दिएको अर्थमा समेत चर्चा चलिरहेको छ । माओवादीमा गुट–उपगुट चिर्न विप्लव भित्र्याउन सकिन्छ कि भन्ने आशामा रहेका प्रचण्डले यस्तो जिम्मेवारी दिएपनि महरा भेपमार्फत भएको भनिएको सुन प्रकरणमा नराम्ररी जोडिन पुगेपछि भने सरकारमाथि प्रश्नहरु उठ्न थालेको छ ।
सुशासन र भ्रष्टाचारविरुद्ध कटिबद्ध रहेको दाबी गर्ने प्रचण्डले महरालाई छानविनको दायरामा ल्याउलान् ? भेपमार्फत भएको तस्करीको सुनमा महराका छोरा राहुल महराको फोन सम्पर्कको विवरणले नै शंका गर्ने प्रशस्त स्थान दिएको अवस्थामा अब सरकारले के गर्ला ? सोधिखोजी गर्न थालिएको छ । सुन तस्कर दाओजिन वाङले महरालाई ११ पटक फोन सम्पर्क गरेको र अर्का फरार चिनियाँ अभियुक्त लुई हानसोङसँग ११ पटक छोरा निर्मल महराको सम्पर्क भएको र राहुलले सयौं पटक फोन गरेको विवरण केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रतिवेदन नै बुझाइसकेको छ ।
तर, प्रधानमन्त्री र गृहमन्त्रीलाई यो प्रमाण पर्याप्त भएन वा कारबाही गर्दा समस्या पैदा हुने देखियो, उनीहरुमाथि अनुसन्धान हुनै सकेको छैन । पटक–पटक गरेर महरा आफ्नै फोन र छोराहरु निर्मल र राहुलको फोनबाट समेत तस्करहरुसँग सम्वाद भएको दाबी सीआइबीको छ ।
यसरी चौतर्फी तथ्यगत कनेक्सन सार्वजनिक भइसकेको अवस्थामा के प्रचण्ड र नारायणकाजीले महराका तीन बाउछोरालाई अनुसन्धानको दायरामा ल्याउलान् ? प्रहरी र सीआईबीको कार्यक्षमतामाथि नै प्रश्न उठ्ने गरि बाहिर प्रश्न उठिसकेपनि प्रचण्डले महरा परिवारको विरासत सम्झिएर संवैधानिक संस्थालाई जोगाउने प्रयास गर्लान् ? यो भने प्रचण्ड र गृहमन्त्रीको निर्णयमा भर पर्नेछ ।