काठमाडौँ । ठूलो परिमाणको सुन बरामदपछि अवरुद्ध संसद खुलाउन लचिलो बन्ने संकेत नदेखाएको प्रमुख विपक्षी दल एमाले सत्तारुढ कांग्रेस सांसदहरुको समेत साथ पाउने देखिएपछि अझ आक्रामक देखिएको छ । कांग्रेस संस्थापन इतर पक्षका नेताहरुले पनि सुन प्रकरणबारेमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारेपछि एमाले सोही मागमा टसमस नहुने भएको छ ।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद नगरेको भए अहिले न संसद अवरुद्ध हुने थियो न सत्ता गठनबन्धन दलहरुमा नै किचलो हुने थियो । सुन बरामदपछि संसद विपक्षी दल एमालेको बन्धक बनिरहेको छ । बाढीपहिरोले मुलुक आक्रान्त भइरहँदा संसद अवरुद्ध खुलाउने पहल स्वरुप गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन २३ गते संसदमा सुन बरामदको घटनाबारे आफ्नो धारणा राखेका थिए ।
तर गृहमन्त्री श्रेष्ठको जवाफमा एमालेले चित्त बुझाएन । यस घटनाक्रम लगत्तै अर्को घटना घट्यो । कांगे्रस सांसद सुनिल शर्मा नक्कली सर्टिफिकेटको अभियोगमा पक्राउ परे । त्यसपछि कांग्रेस संस्थापन इतर पक्षका नेताहरु सरकारप्रति रुष्ट छन् । कांग्रेसको संस्थापन इतर पक्षले नै उच्चस्तरीय छानविन समितिको माग गरेपछि एमालेलाई आफ्नो हठमा थप बल पुगेको छ । संसद खुलाउन लचिलो बन्ने संकेत देखाएको एमाले यहि मौका छोपी उच्चस्तरीय छानबिन समिति गठनको मागबाट टसमस नहुने निष्कर्षमा पुगेको छ ।
आइतवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा पत्रकार सम्मेलन गरी ओलीले सरकार अयोग्य र भ्रष्टाचारको चाङमा उभिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले पदबाट राजीनामा दिनुपर्ने बताए । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर झण्डा हल्लाउँदै हिडेको देख्दा आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीबाट राजीनामा दिन सुझाव दिइरहेका एमाले अध्यक्ष ओलीले आफ्नो ध्यान भने सत्तातिर नभएको पनि प्रष्टिकरण दिए । सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह, सत्तालोलुप्तातिर लागेको आरोप लगाएर सरकारले एमालेको बदनाम गर्न खोजिरहेको ओलीको आरोप छ । एमालेले सत्तामा ध्यान नदिए पनि सरकारलाई जे गरे पनि छुट दिन नसकिने उनले बताए ।
लामो समयदेखि एमालेको बन्धक बनिरहेको संघीय संसदको दुवै सदन सुन प्रकरणबारेमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म चल्न नदिने बताएका एमाले अध्यक्ष ओलीले सरकार आफैले संसद चल्न नदिएको आरोप लगाए । संसद देश र जनताको पक्षमा बोल्ने, आवाज उठाउने, देशका हीत, जनताका हितको सरकारमा भए रक्षा गर्ने, सरकारमा नभए त्यसका निम्ति दबाब दिने थलो भएको ओलीको भनाई थियो । सत्तारुढ दल नेपाली कांग्रेसभित्रैको विवादले गर्दा थप हौसिएको एमालेको माग सम्बोधन गर्न सरकारले कस्तो कदम चाल्छ त्यो भने केही दिन पर्खिनै पर्नेछ । यता, कांग्रेस भित्रको असन्तुष्टिलाई देउवाले कसरी मत्थर पार्छन् ? त्यो पनि पर्खिनै पर्नेछ ।