चितवन। आज दिनभर पश्चिम चितवनका अधिकांश स्थानमा विद्युत् सेवा अवरूद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका अनुसार आज बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म पश्चिम चितवनका भरतपुर महानगरपालिका वडा नं–६ तथा वडा नं–१३ देखि २८ सम्मको विद्युत् अवरूद्ध हुने भएको हो ।
२०६७ सालमा जडान भई सञ्चालनमा रहेको अरेभा कम्पनीको ब्रेकर प्यानल बोर्ड पुरानो तथा जीर्ण हुँदा सवस्टेसनभित्रैको समस्याले पानी पर्दा ओसका कारण खिया लागेको लाइन अवरूद्ध हुने गरेको नेपाल विद्युत् प्राधिकरण चनोली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले बताए । नयाँ ब्रेकर जडान भएपश्चात् आन्तरिक कारणले लाइन अवरूद्ध हुने समस्यामा कमी आउने उनले बताए ।
चालू आर्थिक वर्षमा मात्र करिब ९५० ग्राहकलाई सिंचाइ मिटर उपलब्ध गराइएको र यसवर्ष वर्षात्को समयमा धानखेतीका लागि पर्याप्त पानी नपरेकाले अत्यधिक खपत बढ्न गई लोड बढेको र चनौली सवस्टेसनको क्षमताले धान्न सक्ने अवस्था नरहेको हुनाले हाल लाइन अनियमित भैरहेको प्रमुख लम्सालले बताए ।