चितवन । राप्ती नगरपालिकाले एक पछि अर्को सकरात्मक निर्णय गरेको छ । राप्ती नगरवासीले अव निशुल्क रगत पाउने भएका छन् । राप्ती नगर प्रमुख शमशेर लामाले रगत अभावमा नगरवासीले दुख पाउने दिन गए भन्दै सो कुराको जानकारी गराएका हुन् ।
राप्ती नगरबासीले आवश्यक परेको खण्डमा निःशुल्क रगत पाउने उनले बताए । राप्ती नगरवासीलाइ आवश्यक पर्दा रक्तसञ्चार कार्यालय भरतपुरबाट निःशुल्क रगत पाउने उनले बताए । आइतबार नगर कार्यालयमा राप्ती नगरपालिकाको तर्फबाट नगर प्रमुख शमशेर लामा र रेडक्रस सोसाइटीको तर्फबाट नेरेसो चितवन शाखा सभापति हरि प्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लामाले यस कार्यबाट दीनदुखीहरुको उपचारमा सहज हुने बताए ।
हेर्दा सानोकुरा जस्तो भए नि यसले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । रेडक्रससँग सहकार्य गरि अन्य कार्यक्रम गरिने पनि उनले बताएका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका सह मन्त्री महेश्वर थपलियाले पालिकाका कोहि पनि रगत अभावमा छटपटिन नपर्ने बताए । उनले रगत अभावमा रहेका जनताको लागी आवश्यक सहजीकरण सहित निशल्क रगत पाउने बताए ।
उनले भने ‘म रेडक्रस संग जोडिएको भएको कारणले होला धेरैले फोन गर्नुहुन्थ्यो । अव यो समस्या पनि समाधान भएको छ ।’ कार्यक्रममा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकिय अधिकृत निलक कुमार न्यौपाने, जिल्ला शाखा मन्त्री राममणी खनाल, जिल्ला शाखा कोषाध्यक्ष विजयराज खनाल रक्तसञ्चार प्रमुख रमेशकान्त पौडेलले आफ्नो धारणा राखेका थिए ।