चितवन । पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ गर्ने धानको बीउ बुढिन थालेको छ ।
नारायणी लिफ्ट सिँचाइको पानी पनि पर्याप्त मात्रामा नचल्दा पश्चिम चितवनका किसानले धान रोप्न पाएका छैनन् । सिँचाइको अभावका कारण समयमा धान रोपाइँ गर्न नपाउँदा ब्याडमै बीउ बुढिएपछि उनीहरू चिन्तित भएका हुन् ।
विशेषगरी भरतपुर महानगरपालिकाका किसान बीउ बुढिँदै गएपछि चिन्तित बन्न थालेका छन् । अहिले भरतपुर महानगरपालिकामा ६० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञानकेन्द्र चितवनको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम भरतपुर महानगरपालिकामा भएको कार्यालयकी कृषि अधिकृत सुरुचि त्रिपाठीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “सिँचाइको अभावका कारण बीउ बुढियो भन्दै दैनिक दुई तीन जना किसान कार्यालय आउने गर्नुभएको छ ।” सिँचाइका लागि बोरिङको माग गर्दै किसानहरू कार्यालय आएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–४, ५, १४, १५, १९, २० र २२ मा अहिलेसम्म पनि रोपाइँ हुनसकेको छैन । समयमा रोपाइँ नहुँदा उत्पादनमा कमी आउने उहाँको भनाइ छ ।
कार्यालयको तथ्याङ्कअनुसार खैरहनी र राप्ती नगरपालिकामा शतप्रतिशत, रत्ननगर नगरपालिकामा ८५ प्रतिशत, कालिका नगरपालिकामा ८० प्रतिशत र माडी नगरपालिकामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाभित्र नारायणी लिफ्टबाट सिँचाइ हुने क्षेत्रमा रोपाइँ ढिला भएको हो । नारायणी लिफ्टले पानी समयमा नछोड्दा रोपाइँ हुनसकेको छैन ।
नहरमा पर्याप्त मात्रामा पानी नछोड्दा सिँचाइको अभावले रोपाइँ ढिलाइ भएको भरतपुर–१४ का किसान सपना विकले बताउनुभयो । करिब दुई बिघा क्षेत्रफलमा धान रोप्नुपर्ने भए पनि सिँचाइको अभावले बीउ बुढिएको उहाँले गुनासो गर्नुभयो ।
बीउ ४५ दिनभन्दा बढीको भइसक्दा समेत धान रोप्न नपाएको गुनासो शिवनगरकै राजन शर्माले गर्नुभयो । गत वर्ष यो समयमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटका अनुसार विद्युत् आपूर्तिका कारण ठूलो पम्प नचलेकाले समस्या भएको हो । आठ दिनसम्म सानो पम्प मात्रै चलेको र आजदेखि ठूलोसमेत चलेकाले क्रमशः रोपाइँ हुँदै जाने उहाँले बताउनुभयो ।
जिल्लामा २२ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । यहाँ सावा मन्सुली, सावित्री, रामधान, हाइब्रिड, राधाचार जस्ता धान रोप्ने गरिएको छ ।