चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पारदर्शी रुपमा कुनै पनि गुनासो नआउने गरी छात्रवृत्ति छनोट गरिएको उल्लेख गर्नुभयो । यो छात्रवृत्ति मेरिटको आधारमा प्रदान गरिएकाले पनि पूर्ण रुपमा पारदर्शी भएको उहाँको भनाई थियो ।
महानगरपालिकाले सबै क्षेत्रका परिवारका सन्ततीलाई समेटन दलित, आदिबासी जनजाति, सीमान्तकृत, सहिद तथा घाईते परिवारलाई समेटिएको प्रमुख दाहालले बताउनुभयो । उहाँले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई रोल मोडलको रुपमा अध्ययन गर्न सुझाव पनि दिनुभयो ।
भरतपुर महानगरपालिकाले सामुदायिक विद्यालयका ५५ प्रतिशत र संस्थागत विद्यालयका ४५ प्रतिशत विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको बताउनुभयो ।
महानगरपालिकाले २ सय ८३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आईतबार महानगर सभा हलमा एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले संयुक्त रुपमा सिफारिस पत्र प्रदान गर्नुभयो।
महानगरपालिकाभित्र सञ्चालित कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले अनलाईन माध्यमबाट भरेका फारमको मुल्याङ्कन गरी नतिजा प्रकाशन गरिएको हो । शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्ति आवेदन दिएका ८ सय १९ जना मध्ये २ सय ८३ जना छनौट गरिएको भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले बताउनुभयो । जस मध्ये विज्ञान संकायमा १५३ जना र अन्यमा १ सय ३० जनाले छात्रवृत्ति पाएका छन् ।
भरतपुरका २९ वटा कलेजहहरुमा छात्रावृत्ति पाएका विद्यार्थीहरुले शतप्रतिशत निःशुल्क अध्ययन गर्न पाउने छन् । जसमध्ये अरोमा कलेजमा ३९ जना, अर्किड कलेजमा ३१ जना, बाल्मीकि कलेजमा २६ जना, सप्तगण्डकी कलेजमा २१ जना, नारायणी पब्लिक स्कुलमा २१ जना गरी २८३ जनाले छात्रवृत्ति पाएका छन् ।
संस्थागत विद्यालय तथा कलेजहरुले भर्ना भएका विद्यार्थीहरु मध्ये १० प्रतिशतलाई अनिवार्य रुपमा छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । एसईईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड ९जीपीए०लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो ।
विज्ञान संकायमा छात्रवृत्तिका लागि विज्ञान, गणित र अंग्रेजीमा विद्यार्थीले प्राप्त गरेको जीपीएलाई आधार मानिएको थियो भने अन्यमा गणित, अंग्रेजी, नेपाली र सामाजिक विषयको जीपीलाई आधार बनाएर नजिता निप्काशन गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
त्यसमा पनि जेहेन्दार ३७ प्रतिशत, गरिव तथा विपन्न ३६ प्रतिशत, आदिवासी जनजाती १० प्रतिशत, दलित ५ प्रतिशत, अपांङ्ग र जनआन्दोलन घाइतेका सन्ततीलाई समान ३/३ प्रतिशत, सहिद, वेपत्ता परिवार र मधेश आन्दोलन घाइते सन्ततीलाई समान २/२ प्रतिशतका आधारमा छनौट गरिएको हो ।