चितवन । माडी नगरपालिकाले माडी क्याम्पस र दिवाकर बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुलाई सार्वजनिक बसहरुमा माडीभर निःशुल्क यातायत सेवा दिने भएको छ ।
आइतबार माडी क्याम्पसको कार्यालयमा सम्बन्धित यातायात व्यवसायी, क्याम्पस प्रशासन, माडी नगरपालिका र सुरक्षा निकायको संयुक्त बैठकले आज आइतबार बाटै निःशुल्क बस सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
यस अन्तरगत माडी क्याम्पस र दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै तहका विद्यार्थी र प्रशिक्षार्थीहरुले सार्वजनिक बिदाको दिनबाहेक अन्य समयमा माडी नगर क्षेत्रभर निःशुल्क बस (सवारी) सुबिधा पाउनेछन् ।
यो निःशुल्क सेवा पाउन विद्यार्थीहरुले पोशाक लगाएको, विद्यार्थीको परिचयपत्र लिएको र पाठ्यपुस्तक बोकेकोमध्ये कुनै दुई हुनैपर्ने व्यवस्था गरिएको माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीले जानकारी दिनुभयो ।
बैठकमा माडीका नगर उपप्रमुख खेमप्रसाद महतो, सामाजिक शाखा प्रमुख उषा आचार्य, क्याम्पस प्रमुख क्षेत्री र सहायक क्याम्पस प्रमुख तोयनाथ तिवारी, यातायात व्यवसायीहरु यमप्रसाद सुवेदी, केशव धिताल, सन्तोष घिमिरे, भोजराज चापागाईं र गौरी ढकाल तथा ईलाक प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजाल लगायतको सहभागिता रहेको थियो ।
चालू आर्थिक बर्ष २०८०/८१ को अवधीभर विद्यार्थीहरुलाई निःशुल्क सेवा दिएका बसहरुलाई माडी नगरपालिकाले एकमुष्ठ भुक्तानी गर्नेछ । ‘लक्षित वर्ग यातायात सहुलियत सम्बन्धी कार्यविधी, २०७९’ पारित गरी नगरपालिकाले गत आर्थिक बर्षमा समेत यो सेवा प्रदान गरेको थियो ।