काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तारुढ नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन्।
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको १२ औँ बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले अहिलेको कांग्रेसको बिजोग भएको बताए।
‘भाग्यमा छ भन्दैमा डोकामा दूध दोएर अडिँदैन। जितिहालिन्छ भनेर आराम गरेर बस्ने होइन। अहिलेको नेपाली कांग्रेसलाई हेरे हुन्छ’, उनले भने, ‘यति चाँडै कांग्रेसको यस्तो दुर्गति हुने थिएन। माओवादीको ढाकर बोकेको हेर त!’
उनले अहिलेको कांग्रेसले प्रचण्डलाई काँधमै हालेर लुरुलुरु हिँडेको बताए।
‘अहिले कांग्रेसको दुईपट्टी खुट्टा टिलिक्क परेका जुत्ता लगाएर प्रचण्ड कांग्रेसका कानमा समातेर हिँडेका छन्’, उनले भने, ‘कांग्रेस लुरुलुरु हिँडिरहेको छ। भाग्यमा थियो कांग्रेसको तर अब कठैबरा भन्न मात्रै सकिन्छ।’
ओलीले कांग्रेसका राम्रा नराम्रा दुवै पक्ष रहेको सुनाए। ‘कांग्रेसका नराम्रा पक्ष बहुतै डरलाग्दा छन्। कांग्रेस लोकतन्त्रको पक्षमा छैन, भ्रष्टचारविरुद्ध पनि छैन, चुइँक्क बोल्न सक्दैन।’
उनले कांग्रेसले भ्रष्टाचारविरुद्ध बोल्नै नसक्ने दोहोर्याए। ‘मुसाले बरु चुइँक्क गर्ला तर कांग्रेस ज्यान गयो बोल्न सक्दैन’, उनले भने, ‘हेर्दा हेर्दै कांग्रेसको यो हालत भयो।’