चितवन । कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा लो भोल्टेज आउने समस्या बारे नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रलाई ध्यानाकर्षण गराइएको छ । लो भोल्टेजले दैनिक जीवनदेखि व्यापार व्यसायमा समेत प्रभाव परेको भन्दै पदमपुर क्षेत्रका जनप्रतिनिधि सहितको टोलीले तत्काल समस्या समाधानगर्न मागगर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।
बागमती प्रदेशका साँसद कृष्णप्रसाद सिलवाल, कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, वडाध्यक्षहरु लक्ष्मण पौडेल, मकरमान श्रेष्ठ,निर्वतमान वडाध्यक्ष टीकाराज रिजाल लगायत पदमपुर क्षेत्रका स्थानीयबासीहरुले लो भोल्टेजको समस्याबारे प्राधिकरणको ध्यानर्कषण गराउन प्राधिकरण पुगेका थिए ।
समस्या लिएर टाँडी स्थित कार्यालयमा पुगेका जनप्रतिनिधि र स्थानीयबासीले प्राधिकरण टाँडी शाखाका प्रमुख राजेन्द्र चौधरीलाई ज्ञापनपत्र बुझाएका छन। स्थानीयहरुबाट संकलित हस्ताक्षर सहित लो भोल्टेजका कारण भोग्नुपरेको समस्याहरु ज्ञापनपत्रमा उल्लेख छ । प्रदेश सांसद सिलवालले प्राधिकरणले तत्काल लो भोल्टेजको समस्या सामाधानगर्नुपर्ने बताउनुभयो । लो भोल्टेजका कारण जनताले सास्ती भोग्नुपरेको भन्दै तत्काल समाधानका लागि पहलगर्न आग्रह गर्नुभयो ।
कालिकाका नगर प्रमुख रेग्मीले लो भोल्टेजका कारण दैनिकी कामदेखि अस्पतालबाट दिइने सेवा समेत प्रभावित भइरहेको बताउनुभयो । सिंचाई, खानेपानी आपूर्ति, चिस्यान केन्द्र संचालन देखि व्यापार व्यवसाय संचालनमा असर परेकाले तत्काल समस्या समाधानका लागि ध्यानदिन आग्रह गर्नुभयो ।
वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले प्राधिकरणका कर्मचारीहरु जनताको समस्या प्रति गम्भीर नभएको आरोप लगाउनुभयो । हप्तामा सातैदिन समस्या देखिएकाले बाध्यभएर प्राधिकरण सम्म आउनुपरेको बताउनुभयो । इलेक्ट्रीक सामग्रीलाई प्रमोटगर्न भनिरहेका छौं, तर विद्युत सेवा चित्त बुझ्दो छैन यसले के म्यासेज दिन्छ ? उहाँले प्रश्नगर्नुभयो ।
प्राधिकरणका प्रमुख चौधरीले लो भोल्टेजको समस्या राष्ट्रिय रुपमा रहेको भन्दै समस्या सामधानको लागि स्थानीय स्तरमा गर्नुपर्ने सबै उपाय अबलम्बन गरिएको बताउनुभयो । राप्तीको हर्दी स्थित १३२ केभीप्रसारण लाइनको सबस्टेशनबाट ११२ केभी मात्र तथा पर्साको १३३ केभी प्रशारण लाइनबाट १२२ केभीमात्र विद्युत सप्लाई हुँदा लो भोल्टेजको समस्या आएको प्रमुख चौधरीले जानकारी दिनुभयो ।
लो भोल्टेजको समस्या सामधानको लागि प्रशारण लाइनको दुरी कम गरी दुबै सब स्टेशनलाई एकआर्कामा जोडेर विद्युत सप्लाईलाई सन्तुलनमा ल्याउने जानकारी दिनुभयो । पूर्ण रुपमा सन्तुलनमा ल्याउन अझै तीनवर्ष समय लाग्ने समेत उहाँले बताउनुभयो ।
कालिका नगरपालिकाको वडा नं.२, ३, ४, ५ मा लो भोल्टेजको समस्या छ । सामान्य फ्रीज , पंखा देखि कम्प्युटर चलाउन पनि समस्या भएपछि स्थानीय जनप्रतिनिधिहरु सहितको टोली प्राधिकरण पुगेका थिए ।