चितवन। खैरहनी नगरपालिकाको न्यायिक समितिले एक सय ३९ वटा विवादलाई मेलमिलापबाट समाधान गरेको छ ।
गत आर्थिक वर्षमा २३४ वटा विवाद दर्ता भएकोमा एक सय ३९ वटा विवादलाई मेलमिलाप बाट समाधान गरेको कानुनी सहजकर्ता सञ्जयकुमार धौधरीले जानकारी दिनुभयो । विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकेमा मेलमिलाप भएर पछि फेरी विवाद नआउने गरी जान सक्ने देखिएको उहाँले बताउनुभयो ।
पालिकाको न्यायिक समितिमा आएका मध्य ११ वटा विवादलाई न्यायिक निरूपणबाट समाधान गरिएको थियो । ५२ वटा विवादहरू प्रक्रियामा र चलन चलाउनुपर्ने‚ ७ वटा विवादहरू डिसमिस र समाधान हुन नसकेका २५ वटा विवादहरू चितवन जिल्ला अदालतमा सिफारिस गरिएका छन् ।
न्यायिक समितिमा जग्गा साँध सिमाना एवम् खिचला सम्बन्धी विवाद‚ आर्थिक लेनदेन‚ श्रीमान् श्रीमती विवाद‚ ज्याला मजदुरी सम्बन्धी विवाद‚ गालीगलौज तथा कुटपिट‚ वातावरण प्रदूषण आदि जस्ता स्थानीय स्तरका विवादहरू बढी आउने गरेका छन् । कतिपय अवस्थामा निवेदकसँग यथेष्ट प्रमाण र कानुन बमोजिमको लिखतको अभावका कारण न्याय सम्पादनमा चुनौती आउने गरेको छ ।
न्यायिक समितिले ‘शान्ति‚ न्याय र मेलमिलाप प्रवर्धन कार्यक्रम’ पनि सुरुवात गरेको छ । समुदायमा विवादहरूको न्यूनीकरण गर्दै आपसी सद्भाव‚ मेलमिलाप मार्फत दिगो शान्ति र न्याय स्थापना गर्ने मुख्य उद्देश्यसहित सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।