चितवन । चितवनको रत्ननगर नगरपालिका–७ बाघमारा मध्यवर्ती सामुदायिक वनमा बिहीवार निउरो टिप्न गएका एक व्यक्ति मृत फेला परेका छन् ।
रत्ननगर–६ का करिब ७६ वर्षीय नवराज अधिकारी आज बिहान साढे ७ बजेको समयमा जंगलभित्रै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
निउरो टिपेर साँझसम्म पनि घर नफर्किएपछि आफन्तले उनको खोजी गरेका थिए । खोजी गर्ने क्रममा मृत फेला परेको अधिकारीको शरिरको विभिन्न भागमा चोट देखिएकाले जंगली जनावरले आक्रमण गरेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
कुन जनावरले आक्रमण गरेको भन्ने खुलेको छैन । शवको मुचुल्कासहितको अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ ।