चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले आफ्ना कर्मचारीलाई सेवाग्राही प्रति उत्तरदायी बनाउन नयाँ अभियान सुरु गर्न लागेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै गाउँपालिकाले कर्मचारीलाई सेवाग्राही प्रति उत्तरदायी बनाउन सेवाग्राही मैत्री क्षतिपूर्ती सहितको नागरिक बडापत्र लागु गर्दै नयाँ अभियान सुरु गर्न लागेको हो ।
जसमा गाउँपालिकाले प्रत्येक कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न लागेको छ । कार्यालयले शाखा प्रमुखसँग र शाखा प्रमुखले सम्बन्धित शाखाका कर्मचारीसँग वार्षिक कार्ययोजना सहित कार्यसम्पादन सम्झौता गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिए ।
उनका अनुसार अब हरेक कर्मचारीको ६ वटा सूचकका आधारमा मूल्याङ्कन हुनेछ । जसमा गाउँपालिकाले वार्षिक कार्ययोजनाको मूल्याङ्कनमा ७%, वार्षिक कार्ययोजनाको कार्यान्वयनको अवस्था मुल्याङ्कनमा ६५%, सेवाग्राही सन्तुष्टी सर्वेक्षणका आधारमा हुने मुल्याङ्कनमा ७%, अनुशासन, आज्ञापालन र नैतिक आचारणको मुल्याङ्कनमा ७% समकक्षीबाट हुने मुल्याङ्कनमा ७% र समस्या समाधामनमा देखिएको अग्रसरताको मूल्याङ्कनमा ७% गरि कर्मचारीको मूल्याङ्कन गर्नेछ भने सोही मुल्याङ्कनको आधारमा कर्मचारीहरुलाई दण्ड, जरिवाना, सम्मानित र पुरस्कृत गर्नेछ ।
गाउँपालिकाले अहिले साउन ८ गतेसम्म कार्ययोजना पेश गर्न सम्पूर्ण शाखा प्रमुखहरुलाई निर्देशन दिईसकेको उनले बताए । उनले भने– ‘शाखा प्रमुखहरुबाट वार्षिक कार्ययोजना आएसँगै साउन १० गतेसम्म कार्यसम्पादन सम्झौता गरिसक्नेछौ र लागु गर्नेछौं’ । यस्तै यो सम्झौता लागु भएसँगै अब कुनै कर्मचारीले सेवाग्राहीको काममा ढिलासुस्ती गरेका कारण वा अनुचित लाभ लिइ सेवाग्राहीलाई क्षति पु¥याईएको पाईए दोषी कर्मचारीलाई तत्काल कारबाही गरि निजबाट सेवाग्राहीलाई क्षतिपूर्ती समेत दिलाउने व्यवस्था मिलाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुषालले बताए ।