चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुर ११, बसेनिमा निर्माण गरिरहेको भवनका लागि समाजसेवी लिलाधर पौडेलले आर्थिक सहयोग गरेका छन् । पौडेलले भवन निर्माणका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
पौडेलले चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा पौडेलले प्रेस चौतारी आवद्ध श्रमजीवि पत्रकारहरुको देशमै पहिलो भवनका लागि आफूले सहयोग गर्न पाएकोमा खुशी व्यक्ति गरे । उनले भने “पैसा भएर भन्दा पनि मन भएर सहयोग गरेको हुँ ।”
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चौतारी चितवनको भवन बनाउन समाजसेवी पौडेलले प्रदान गरेको सहयोगले थप उर्जा र प्रेरणा मिलेको बताए । उनले चौतारीको भवन देशकै पत्रकारहरुको साझा सम्पत्ती भएकोले आआफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई अपिल गरे ।
जग्गा ब्यबसायी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा प्रेस चौतारीको देश कै पहिलो भवन बनिरहेको छ । भवनको पहिलो तला ढलानको तयारी भैरहेको चौतारी चितवन अध्यक्ष पण्डितले जानकारी दिए । एक बर्ष भित्र बनाइसक्ने साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।