चितवन । कालिका नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई बिहीवार गरेको छ ।
कार्यक्रममा नगरबासीहरुले विकास निर्माणको विषयमा जनप्रतिनिधि समक्ष गुनासो र सुझाब राखेका छन् । सुकुमबसीलाई रातो लालपूर्जा माग देखि विकास निर्माणको गुणस्तर, सिंचाई अभाव, फोहोर व्यवस्थापन सम्मका विषयहरुलाई नगरबासीहरुले जोडतोडका साथ उठाएका छन् ।
सार्वजनिक सुनुवाईमा लालपूर्जाको मागसंगै पूर्वाधार निर्माणमा भएका गुणस्तर, योजनाका रकम निकासामा ढिलासुस्ति, उपभोक्ता समितिका सदस्य रिसाहा, कृषिको क्षेत्रमा सिंचाई अभाव, आर्थिक पारदर्शीता, कर्मचारीको कार्यशैली, फोहोर व्यवस्थापन लगायतका विषयमा नगरका अगुवाहरुले प्रश्न गरेका छन् ।
कार्यक्रममा मेयर विनोद रेग्मी, उप मेयर विमला लामा, प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद उपाध्याय, सूचना अधिकारी प्रकाश चन्द्र पौडेल, वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. ३ का वडा अध्यक्ष विरेन्द्र तामाङले नगरबासीले राखेका प्रश्नको जवाफ दिएका थिए ।
नगरबासीको प्रश्नको जवाफ दिँदै मेयर रेग्मीले नगरको विकासमा देखिएका केही समस्याहरुको निराकरण बिस्तारै गर्दै लैजाने प्रतिवद्धता जनाए ।
वर्षायाममा बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको पानी थाङ खोलामा व्यवस्थापन गर्न लागिएको उनले बताए । कसैलाई असर नपर्ने गरी जलाधार क्षेत्रको व्यवस्थापन गर्न थालिएको उनको भनाई छ । बुङखोलादेखि थाङखोलासम्म अहिले नहर निर्माण गर्ने कार्य भइरहेको उनले बताए ।
कार्यक्रममा स्थानीय हरि प्रसाद भण्डारीले योजनाका रकमहरु समयमै भुक्तानी नहुने गुनासो व्यक्त गरे । कर्मचारीहरु सधै तालिम गोष्ठीहरुमा धेरै व्यस्त रहने हुनाले नगरपालिकाको काम प्रभावित हुने गरेको बताए ।
गोविन्द खनालले नगरका अधिकाशं स्थानहरुको बाटो कालोपत्रे भएपनि केही स्थानका बाटो हिड्न नसक्ने बिजोग अवस्थामा रहेको बताए ।
टीका प्रजाले स्थानीय निर्वाचनको समयमा जनप्रतिनिधिहरुले मत माग्न जादा रातो लालपूर्जा वितरण गछौं भनेका बाचा अहिलेसम्म पनि पुरा नभएको बताईन् ।
लिलाधर पौडेल र सुकराम महतोले कृषि क्षेत्रमा राम्रो सिंचाईको सुविधा नभएका कारण अहिले सम्म पनि रोपाई गर्न नपाएको बताए ।
रामु वनले नगरपालिकाले फोहोर मैला व्यवस्थापनमा खासै चासो नदिएको बताए ।
उनीहरुको मागका विषयमा बोल्दै मेयर रेग्मीले स्थानीय सरकारको रुपमा रहेको कालिकाले सबै समुदायको समस्यालाई चाडो भन्दा चाडो समाधान गर्ने प्रतिवद्धता जनाए ।