चितवन। भरतपुर महानगरपालिका १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा पाँच दिने व्यक्तित्व बिकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
स्कुलकै आयोजनामा असार २४ गतेदेखि महिलाहरुका लागि उक्त तालिम आयोजना गरिएको थियो । तालिमको आज (बिहीबार) एक कार्यक्रमका बीच भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्त (हरि) ले समापन गरे । समापन समारोहमा बोल्दै वडाध्यक्ष पन्तले यस तालिमले महिलाहरुको क्षमता बिकासमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले वडाले पनि महिलाहरुका छिट्टै यस किसिमका कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।
स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले तालिममा सिकेका बिषयलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले माहिलामा देखिएको उत्साहका तालिमलाई थप प्रभावकारी बनाउन तीन दिनमा दुई दिन थप गरिएको बताए । वाककलाले दैनिक जीवनमा पनि निकै महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट सृजना अधिकारी, शान्ति लामा, केश पोख्रेल, सबित्री पौडेल र सरस्वती पौडेलले अनुभव सुनाएका थिए । उनीहरुले तालिमबाट धेरै सिक्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे ।
तालिममा भरतपुर १२ भित्रका २३ टोल सुधार समितिका महिलाहरु सहभागी थिए । २३ टोल सुधारलाई प्रतिनिधित्व गर्दै एक टोलबाट दुई-दुइ जना गरी ४३ जना सहभागे थिए । पाँच दिनसम्म सञ्चालित तालिमलाई प्रशिक्षक सञ्चारकर्मीद्धय मनोज पन्त र करिश्मा थापाले सहजिकरण गरेका थिए ।