काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एकैदिन चार जिल्लाका बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण छन् ।
शनिबार मन्त्री खाँणले सिन्धुपाल्चोको हेलम्बु र मेलम्ची, उदयपुरको बेलका तथा धनुषाको सबैला नगरपालिकाको स्थलगत अनुगमन गरेका हुन् । मन्त्री खाँणले सिन्धुपाल्चोकको निरीक्षणका क्रममा स्थानीय सांसदहरूलाई पनि साथमा राखेका थिए ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आज मिति २०७८ भाद्र १९ गते माननीय गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष विश्वनाथ पौडेल, माननीय सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रदेशसभा सदस्य माननीय निमा लामा, प्रदेशसभा सदस्य माननीय युवराज दुलाल, गृहसचिव टेकनारायण पाण्डेलगायत अन्य सरकारी प्रतिनिधिसहितको टोलीले हालैको मनसुनजन्य विपद्बाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन भ्रमण गर्नुभयो ।”
विज्ञप्तिमा मनसुनजन्य विपद्बाट हेलम्बु, मेलम्चीलगायत सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका क्षतिको लेखाजोखा, प्रभावकारी प्रतिकार्य, पीडित परिवारहरूलाई राहत, घाइतेहरूको उपचार, जोखिमयुक्त बस्तीको स्थानान्तरणका र भौतिक संरचना÷पूर्वाधारहरूको पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकार प्रतिबद्ध रहेको जानकारी गराउँदै सम्पूर्ण सरोकारवाला निकायहरूलाई संवेदनशील भएर तत्काल उल्लिखित कार्यहरू प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएको उल्लेख छ ।
प्रतिपरिवारले कति दिनभित्र के–के सुविधा पाउने भन्ने विषयमा भने गृहमन्त्री खाँणले उल्लेख गरेका छैनन् ।
“मन्त्रीज्यूलगायतको टोलीले आजै उदयपुर जिल्लाको बेलका नगरपालिकामा कोसी नदीले गरिरहेको कटान तथा उक्त कटानका कारण नदीको बहाव परिवर्तन भई हुन सक्ने क्षति तथा जोखिमका सम्बन्धमा र धनुषा जिल्लाको सबैला नगरपालिकाको वडा नम्बर–१३ को किरतपुर र वडा नम्बर–४ को पटेर्वा भन्ने स्थानमा कमला नदीले तटबन्ध बगाई नदीको बहाव परिवर्तन भइरहेको क्षेत्रसमेतको स्थलगत अवलोकन गर्नुभयो,” विज्ञप्तिमा भनिएको छ । त्यस क्रममा मन्त्री खाँणले कमला नदीको बहाव नियन्त्रण र रोकथामका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएको जनाइएको छ ।