चितवन । भरतपुर महानगर प्रमुख रेनु दहालले अब कुनै पनि नागरिक खानेपानीबाट बन्चित हुन नपर्ने बताउनु भएको छ । खानेपानी आम नागरिकको पहुँचमा पुगेको भन्दै नगर प्रमुख दहालले जनताको घर घरमा स्थानीय सरकार पुगेको आभाष भएको प्रष्ट पार्नु भयो ।
पार्बतीपुर खानेपानी उपभोक्ता समितिको प्रथम साधारणसभा एवं अधिवेशन कार्यक्रमलाई आज भरतपुर २१ पार्बतीपुरमा सम्बोधन गर्नु हुँदै नगर प्रमुख दहालले स्थानीय सरकारको प्रत्याभूति हुने गरि महानगरपालिकाले जनताको घर घरमा स्वच्छ खानेपानी पुर्याएको उल्लेख गर्नु भयो । हामी जनताका सेवक हौ नगर प्रमुख दहालले भन्नू भयो,पुर्बाधार निर्माण सगै जनताका दैनिक आबश्यकताहरु पूरा गर्नु स्थानीय सरकारको दायित्व हो ।
नगर प्रमुख दहालले जनताको मौलिक हकको सुनिश्चितता भएको उल्लेख गर्दै हाम्रो महानगर देश मै पहिलो पुर्ण खानेपानी पालिका बन्नेमा बिश्वास समेत व्यक्त गर्नु भयो । महानगर भित्र निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरु सम्पन्न भएपछि ९२ प्रतिशत जनता खानेपानीको पहुँचमा पुग्ने उहाँको तर्क छ ।
यस्तै उद्वघाटन समारोहलाई सम्बोधन गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका शून्य पानीको अबधारणामा गएको टिप्पणी गर्नु भयो । महानगरपालिकाले जनताका घर घरमा पानीको धारा पुर्याएर शून्य पानीको शुरूवात गरेको तर्क राख्नु भयो । महानगरमा बसोबास गर्ने सबै जसो नागरिकको घरदैलोमा स्वच्छ पिउने पानीको ब्यबस्था भएको भन्दै नगर उप प्रमुख अधिकारीले महानगर शुन्य पानीको अवस्थामा प्रवेश गरिसकेको ठोक्कुवा समेत गर्नु भयो ।
२०७१ सालबाट शुरु भएको आयोजना ९ बर्ष पछी आएर सम्पन्न भइ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । सघिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना चितवन द्वारा निर्माण गरिएको आयोजना ८ करोडको लागतमा सम्पन्न भएको हो । पार्बतीपुर खानेपानी आयोजना मार्फत हाल एक हजार दुई सय ८० उपभोक्ताले स्वच्छ पिउने पानी प्रयोग गर्दै आइरहेका छन ।
भरतपुर महानगरपालिकाले मासिक ७ हजार लिटर सम्म खानेपानी निशुल्क बितरण समेत गर्दै आइरहेको छ ।
शारदानगरमा हाल ५५ करोडको लागतमा खानेपानी आयोजना निर्माण भइरहेकोे छ भने दिब्यनगरमा पनि ठुलो खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भरतपुर २९ मा महानगरको सबै भन्दा ठुलो खानेपानी आयोजना निर्माण भइ उपभोक्तामा हस्तान्तरण भइसकेको छ । महानगरपालिका भित्र हाल झण्डै एक दर्जन भन्दा बढी खानेपानी आयोजनाहरु सन्चालनमा रहेका छन ।