चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषकलाई बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने गरी काम भइरहेको बताउनुभएको छ ।
बीसौँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको भरतपुरमा आज आयोजना गरिएको रोपाइँ महोत्सवमा उहाँले आकाशको पानी कुरेर कृषकले धान रोप्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको हो । “भरतपुर महानगरपालिकामा सबै खालका खेतीको सम्भावना छ”, उहाँले भन्नुभयो, “धान, गहुँ, तोरी, तरकारी खेतीसहित सबै अन्नबालीको राम्रो उत्पादन भइरहेको छ, त्यसैले अब यहाँका किसानलाई बाह्रै महिना पानीको सुविधा पु¥याउन हामीले काम गरिरहेका छौँ ।”
अहिले महानगरमा सिँचाइको पर्याप्त व्यवस्था गर्न नसक्दा किसान दुःखी भएका उल्लेख गर्दै उहाँले वैकल्पिक व्यवस्था गरेर भए पनि महानगरपालिकाले भूमिगत सिँचाइका साधन बोरिङ, स्यालो ट्युबबेल, ट्युबबेलका माध्यमबाट पानीको सुविधा पु¥याइरहेको बताउनुभयो । “अहिले नारायणी लिफ्ट सिँचाइमा काम भइरहेको छ, त्यहाँ अत्याधुनिक उपकरण जडान भइरहेको छ”, उहाँले भन्नुभयो, “निकट भविष्यमा हामीले त्यसलाई सञ्चालनमा ल्याउनेछौँ, किसानले आकाशको पानी कुरेर बस्नुपर्दैन ।”
आज राष्ट्रिय धान दिवसको अवसर पारेर भरतपुरमा पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री आउनुले पनि यहाँको कृषि क्षेत्रले सबैको ध्यान खिचेको दाहालले बताउनुभयो । भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी देशका शीर्ष नेता यहाँ आउनुले भरतपुरको प्रचारप्रसारमा थप टेवा पुगेको उहाँको भनाइ छ । पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु पनि धान दिवस मनाउन चितवन पुग्नुभएको छ ।
महानगरपालिकाले किसानलाई अनुदानमा बीउबिजन उपलब्ध गराउँदै कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उहाँले बताउनुभयो । पछिल्लो पाँच वर्षमा महानगरपालिकाले सात हजार बिघा क्षेत्रफलमा वैकल्पिक व्यवस्था गरेर सिँचाइ पु¥याएको भन्दै उहाँले सिँचाइका लागि मात्रै रु चार अर्ब बढीको आयोजना सञ्चालनमा रहेका बताउनुभयो ।
भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुर महानगरपालिले त्रिपुरेश्वर कृषि सहकारीसँगैको सहकार्यमा आज राष्ट्रिय धान दिवसको कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले कृषिको विकास गर्न निरन्तर काम गर्दै आइरहेको बताउनुभयो । “भरतपुर कृषिको आकर्षणको केन्द्र बन्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँको कृषि र पशु विकासको काम देखेर अहिले केन्द्रीय नेताको समेत आकर्षण भएको छ ।” महानगरपालिकाले आन्तरिक बजेटबाट रु १५ करोड कृषि र पशुपन्छीका लागि विनियोजन गरेको अधिकारीले बताउनुभयो ।