चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार १३औं नगरसभामा नगरप्रमुख प्रलाद सापकोटाले १६ वटा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनले नगरक्षेत्रका मुख्य सडक र चोकहरुमा सडक बत्तीमार्फत उज्यालो रत्ननगर अभियान सञ्चालन गरिने, स्थानीय समावेशी सरसफाइ कार्यक्रमलाई प्राथमिकता दिँदै दिसाजन्य लेदो र ढल व्यवस्थापनसहित नगरगौरवको योजना कार्यान्वयन, सडक सञ्जालको विकास गरी रिङरोडको अवधारणालाई कार्यान्वयन, पर्यटन प्रवर्द्धन गर्दै नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने, पञ्चकन्या सामुदायिक वनमा कृष्णसार राख्नका लागि पूर्वाधार सम्पन्न गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
यस्तै, सौराहालाई सौन्दर्यीकरण गर्न फुटपाथसहितको साइकल लेन निर्माण गरी सडकबत्ती जडान गर्ने, हरियाली पार्कलाई बहुउद्देश्यीय अवधारणाबाट सञ्चालन गरी पर्यटन प्रवर्द्धन गर्ने, लौरीघोल र पञ्चनदीलाई व्यवस्थित गर्न पदमार्ग निर्माण गरी संरक्षण गर्ने, एक घर एक धाराको नीति अवलम्बन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
यसैगरी, सामाजिक तथा सांस्कृतिक रुपमा पछाडि परेका नगरवासीलाई उद्यमशीलता प्रवद्र्धन गर्ने, नगरप्रमुख उद्यमशील कार्यक्रमलाई निरन्तरता दिने, उद्योग संघ चितवनसँगको सहकार्यमा उद्यमी सिर्जना गर्ने, नगर सूचना प्रविधिमैत्री, सेवाप्रवाहलाई सरलीकृत, गुणस्तरीयर रोजगारमूलक शिक्षाको विकास गर्दै व्यवसायिक र सीपमूलक कार्यक्रमलाई थप विस्तार, गरिब तथा विपन्नलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई थप विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी नगरप्रमुख सापकोटाले रत्ननगर नगरपालिकाको विषयगत शाखाहरु आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासको छुट्टाछुट्टै नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, पर्यटन विकास, सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा विकास, बालबालिका, युवा तथा खेलकुद, सुशासनको प्रत्याभूति, स्थानीय कला, संस्कृति, साहित्य र भाषाको प्रवर्द्धन, सूचना सञ्चार तथा प्रविधिसम्बन्धी नीति, अनुसन्धान, उद्योग व्यवसायसम्बन्धी नीति र वातावरण तथा विपद् व्यवस्थापन नीतिहरु आगामी वर्षको कार्यक्रममा समेटिएका छन् ।