चितवन । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन केन्द्रमा २० वटा बच्चालाई प्रयोगशालामा राखेर जन्माएको छ। अहिले प्रजनन केन्द्रमा रहेका भालेको स्वास्थ्य राम्रो नभएपछि २० वटा अन्डालाई प्रयोगशालाको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो।
प्रजनन केन्द्रमा रहेको र नदीबाट ल्याएको गरी दुईवटा भाले भए पनि स्वास्थ्य राम्रो नरहेका कारण प्रजनन क्षमता कमजोर भएकाले प्रयोगशालाको भर पर्नु परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।
भालेको सङ्ख्या कम र प्रजननका लागि समस्या हुन थालेपछि नदीबाट सङ्कलन गरेर ल्याइएको अन्डालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर बच्चा कोरल्न सफल भएको उहाँले बताउनुभयो। उहाँका अनुसार केन्द्रको गुँड नं. २ मा राखिएका ३७ वटा अन्डामध्ये २० वटालाई भाले जन्माउनकै लागि प्रयोगशालामार्फत कोरलिएको हो।
तापक्रमका आधारमा भाले र पोथी हुने भएकाले इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रम दिएर कोरल्न सकेमा भाले र त्योभन्दा कम तापक्रममा कोरलेमा पोथी हुने भएकाले २० वटालाई भाले बनाउने प्रव्रिmया भएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो। अहिले जन्मेका बच्चा भाले नै हुने उहाँले दाबी गर्न‘भयो।
यसरी जन्मेका बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। ती बच्चा १४ देखि १५ वर्षको उमेर भएपछि मात्र लिङ्ग पहिचान हुने गर्छ। यसअघि यसरी बच्चा कोरले पनि अलग्गै नराखेकाले कति भाले हुन्छन् भन्ने पहिचान गर्न कठिन हुने तिवारीले बताउनुभयो। यस पटक कोरलेका बच्चालाई अलग्गै राखिएकाले कति भाले जन्मिन्छन् भन्ने यकिन विवरण दिन सकिने उहाँले बताउनुभयो।
प्रयोगशालामार्फत ती अन्डाबाट जेठ २४ गते बच्चा कोरलिएका थिए। केन्द्रले गत वैशाख ८ गते राप्ती नदीको सीतामाईदेखि सौराहासम्म आठ वटा गुँडबाट २४२ वटा अन्डा सङ्कलन गरेको थियो।
निकुञ्ज कार्यालयका अनुसार २०३५ सालमा गोही प्रजनन केन्द्र स्थापना गरी गोहीका बच्चा हुर्काएर नदीमा छाडिँदै आएको छ। प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार ८५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ। तीमध्ये सबभन्दा बढी राप्तीमा एक हजार १३२ वटा गोही छाडिएको छ। यस्तै नारायणीमा ४१९, बबईमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ।
पछिल्ला दिनमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिँदै आएको छ। नारायणी र राप्तीमा छाडिएका गोही पनि वर्षाको समयमा भारत पुग्ने र बाँधका कारण पुनः फर्किएर नआउने समस्या रहेको निकुञ्जले जनाएको छ।
नदी प्रदूषित हुँदै जानु, जथाभाबी नदीजन्य पदार्थ उत्खनन गर्न‘, माछा मार्न ठुला जाल प्रयोग गर्न‘ जस्ता कारणले गोही संरक्षणमा समस्या भएको निकुञ्जले जनाएको छ।
कोरलिएका बच्चा बचाउन निकै जटिल हुने र हुर्काएर नदीमा छाडेका सबैलाई बचाउन नसकिएको कारण घडियाल गोही सधैँ संरक्षणको उच्च सूचीमा रहेको छ। चितवनमा मात्रै रहेको घडियाल गोही प्रजनन केन्द्र अध्ययन अनुसन्धान गर्न आउनेका लागि महत्वपूर्ण स्थान रहेको छ। यही प्रजनन केन्द्र हेर्न पर्यटक आउने गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको खबर आजको गोरखापत्रमा छ।