चितवन । अत्यधिक गर्मीले सुक्खा भएपछि चितवन राष्ट्रिय निकुञ्जका ताल र पोखरी सुक्न थालेका छन्।
लामो समयदेखि पानी नपरेको तथा सुक्खा र तातो हावा चल्न थालेकाले निकुञ्जका ताल र पोखरी सुक्न थालेका हुन्। निकुञ्जभित्रका पानीका स्रोत सुकेपछि पानीको खोजीमा जनावर अन्यत्र जान थालेका छन्। ताल सुक्न थालेपछि गैँडा, हरिण, मृग, जरायो, बँदेललगायतका जनावर पानीको स्रोत खोज्दै हिँडेको निकुञ्ज कार्यालयले जनाएको छ।
पाटेबाघ देखिने निकुञ्जको ठूलो थपलिया ताल सुकेको छ। यो ताल यसअगाडि कहिल्यै सुकेको थिएन। साना तथा मझौला ताल र पोखरी अहिले सुकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।
“ताल सुक्न थालेपछि त्यसबाट सबभन्दा धेरै गैँडा प्रभावित भएका छन्। बासस्थान नजिकैको ताल सुकेपछि खान र आहाल खेल्न अन्य स्थानमा रहेका पानीका स्रोत खोज्न गैँडा बाध्य भएका छन्,” उहाँले भन्नुभयो।
ताल सुकेपछि त्यस वरपर पाइने घाँस बढ्न सकेको छैन भने पूर्वी क्षेत्रका घाँस मर्न थालेकाले यसमा आश्रित जनावर आहाराको खोजीमा टाढा जानुपर्ने जस्ता समस्या आएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो।
विशेष गरी निकुञ्जको चुरे क्षेत्र अन्तर्गत भावर स्थान (चुरेको पहाडबाट केही किलोमिटर परको क्षेत्र) मा पानीको स्रोत नभएका कारण जनावर भौँतारिएका छन्। निकुञ्जको लामी ताल, तमोर ताल, बिसहजारी ताल, बाटुली पोखरीलगायतका पानीका स्रोतमा अहिले पानीको सतह कम भएको छ। यस क्षेत्रमा पनि सुक्खा मौसमको असर परेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो। पूर्वी क्षेत्रको कुमरोजमा घाँसेमैदान सुकेको छ। योसँगै अन्य क्षेत्रमा पनि सुक्खा मौसमको असर परेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ।
निकुञ्जको भित्री क्षेत्रभन्दा मध्यवर्ती क्षेत्रमा रहेका ताल धेरै सुकेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो। चितवन, नवलपरासी र पर्सा क्षेत्रमा रहेका मानवनिर्मित तथा मध्यवर्ती क्षेत्रका ताल अधिकांश सुकेको जानकारी उहाँले दिनुभयो। “मानवनिर्मित ताल सबै सुकेका छन् भने प्राकृतिक रूपमा रहेका ताल पनि सुकेको छ। पानी नभएपछि नवलपरासीको मध्यवर्ती क्षेत्रका पोखरीमा जेनेरेटरबाट पानी तानेर पोखरीमा भर्न थालिएको छ,” उहाँले भन्नुभयो।
निकुञ्जभित्रका जनावरलाई पानी खानकै लागि नपुग्ने अवस्था छैन तर पर्याप्त पानीका स्रोत नभएका कारण अर्को ठाउँमा जानुपर्ने बाध्यता भने छ। चितवन निकुञ्ज विविधताले भरिएको स्थान भएको र यहाँ पानीको स्रोत भए पनि सामान्य अवस्थाभन्दा फरक भएकाले सुक्खा मौसममा जनावरलाई केही असहज भएको अध्यक्ष ढुङ्गानाले बताउनुभयो।
केही समयअघि फैलिएको डढेलोको असरले जमिन सुक्खा बनायो। अहिले मौसम तातो भएपछि पानीका स्रोत सुक्न थाले। पानी नपरेपछि पोखरी सुक्ने, घाँस नउम्रने र उम्रेको घाँस मर्ने भएकाले जनावरमा त्यसको प्रभाव परेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ।
लामो समय खडेरी परेपछि देखिएको यो अवस्था अझै रहे सुकेको पोखरीमा पानी भरिने निकुञ्जले जानकारी दिएको छ। तर पनि पश्चिम क्षेत्रमा नारायणी नदीको भँगालो र पूर्वबाट बगेर आएको राप्तीले जनावरलाई पानी खान भने समस्या छैन। भित्री क्षेत्रमा रहेका सानाठूला तालमा पर्याप्त पानी नहुँदा समस्या भएको हो।
निकुञ्जका अनुसार साना पोखरी सबै सुकेका छन् भने ठूला पोखरीसमेत सुक्खा मौसमको चपेटामा परेको छ। पर्यटकको केन्द्र रहेको बाटुले पोखरीमा पानी सुकेर जलकुम्भी झारले पुरिएको छ। थोरै मात्रामा रहेको पानी पनि सुक्ने अवस्थामा पुगेको छ। चितवन निकुञ्जभित्र ठूला पोखरी ५० वटाको हाराहारीमा छन्। तीमध्ये धेरैमा पानी सुकेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ।