चितवन । भरतपुर महानगरपालिकाले अबको चार वर्ष भित्र बालमैत्री महानगर बनाउने भन्दै २३ वुदे घोषणा पत्र जारी गरेको छ ।
भरतपुर महानगरपालिका र युथ क्लब नारायणगढको संयुक्त आयोजनामा शनिबार भरतपुरमा भएको वृहत बाल भेलामा बालमैत्री नगर बनाउने सूचक सहित घोषणा पत्र जारी गरेको हो । बाल अधिकारका विषयमा विभिन्न २६ वटा वुदाहरु घोषणापत्रमा उल्लेख गरिएको छ । हरेक वडामा बाल सञ्जाल गठन गर्ने, वडाको बजेट निर्माणमा बालबालिकालाई सहभागी गराउने, बालबालिकाको विकासमा महानगरले बजेट विनियोजन गर्ने, बालअधिकारको सन्दर्भमा उल्लेख भएका सूचनकहरु पूरा गर्ने गरी घोषणा पत्र जारी गरेको हो ।
कार्यक्रममा सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आउदो २०८३/०८४ मा सवै वडालाई बालमैत्री बनाउने गरी कार्यक्रम सम्पन्न गर्ने बताउनुभयो । हामीले अन्य क्षेत्रमा जसरी काम गरेका छौ त्यसैगरी बालअधिकार र उनीहरुको क्षेत्रमा पनि प्राथमिकताका आधारमा काम गर्नेछौ दाहालले भन्नुभयो हरेक विद्यालयमा खेलमैदान निर्माण गर्न लगाउने, उनीहरुको क्षमता वृद्धि गर्नको लागि अवसर प्रदान गर्ने, बालमैत्री विद्यालय, शौचालय निर्माण गराउनेलगायतका कामहरु भएको जानकारी दिनुभयो ।
कार्यक्रममा महानगर उपप्रमुख चित्रसेन अधिकारीले अवको एक वर्ष भित्र चारवटा वडा बालमैत्री घोषणा गरिने जानकारी दिनुभयो । बालमैत्री हुनका लागि सूचकहरु पूरा भएका वडालाई घोषणा गर्ने तयारी भएको बताउनुभयो । स्थानीय सरकारसंग बालबालिकाले आफ्नो अधिकार राख्न पाउने वातावरण निर्माण गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा नगर वालसञ्जालका अध्यक्ष आदर्श तिवारीले स्थानीय पालिकाले कम्तीमा पनि बालबालिका संग वर्षको एक पटक वसेर उनीहरुको मागका विषयमा सुनुवाइ हुनु पर्ने बताउनुभयो । बालअधिकारको विषयमा कति गम्भिर भएका छौ भन्ने विषय बालबालिकाको मुखबाट सुनेपछि मात्र सत्य हुने उहाले बताउनुभयो । उहाले घोषणा पत्रमा उल्लेख भएका वुदा संगै बाल न्यायालय सञ्चालन गर्नु पर्ने, अनलाइन सुरक्षा प्रदान गर्नु पर्ने लगायतका वुदाहरुको विषयमा महानगरपालिका गम्भिर हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बालसञ्जालका प्रतिनिधि कृपा दाहालले समाजिक सञ्जालबाट बालबालिकाको अधिकार हनन् भएको बताउनुभयो । आफ्नै अभिभावकबाट सामाजिक सञ्जालमा छोराछोरीलाई प्रयोग गरेर पैसा कमाउन लगाउने जस्ता काम भएकाले त्यसलाई रोक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य महिला तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले बालमैत्री महानगर बनाउन सरकारी निकायबाट मात्र नभइ सामाजिक संघसस्थाको पनि भूमिका रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बालपरिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेलले आफ्नो अधिकारका लागि बालबालिका आफैले वोल्नु पर्ने बताउनुभयो । सामुहिक रुपमा स्थानीय सरकारलाई दवाव दिन सकेमा अधिकार सुनिश्चित हुने बताउनुभयो ।
घोषणा पत्रमा महानगरप्रमुख , उपप्रमुख, स्वास्थ्य महिला तथा सामाजिक महाशाखा प्रमुख, बालसञ्जालका अध्यक्षले हस्ताक्षर गर्नु भएको थियो । युथ क्लब नारायणगढका अध्यक्ष शालिग्राम नेपालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय बालपरिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेल, क्लबका उपाध्यक्ष दयाराम कडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम महासचिव रामचन्द्र आचार्यले सञ्चालन गर्नु भएको थियो ।